काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत दुईजना अधिकृतले पाएको 'एसिया इन्भाइरोमेन्टल अवार्ड' बुधबार हस्तान्तरण गरिएको छ।
वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निभाएको भन्दै संयुक्त राष्ट्र संघ वातावरणीय कार्यक्रमले सन् २०२० को एसिया इन्भाइरोमेन्टल अवार्डतर्फको प्रभाव पुरस्कार सिआइबीका इन्सपेक्टर सुदर्शन पन्थी र सई वीरेन्द्रसिंह जोहारीलाई दिएको थियो। उक्त पुरस्कार एक कार्यक्रमकाबीच सिआइबीका निर्देशक तथा डिआइजी सहकुलबहादुर थापाले हस्तान्तरण गरेका हुन्।
पुरस्कार हस्तान्तरण गर्दै डिआइजी थापाले उक्त अन्तर्राष्ट्रिय पुरस्कारले नेपाल प्रहरीको छवि अझ उच्च बनाएको र प्रहरी कर्मचारीको मनोबलसमेत उच्च भएको बताए।
पुरस्कृत भएका इन्सपेक्टर पन्थी र सई जोहारीले कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न सफल भएका थिए।
तामाङ भारतबाट नेपाल हुँदै तिब्बतमा आखेटोपहार तस्करी गर्ने गिरोका नाइके थिए। तामाङकै समूहले आखेटोपहार तिब्बत लैजाँदै गरेको बेला २०६२ सालमा पाँच थान बाघको छाला, ३६ थान चितुवाको छाला, २३८ थान विभिन्न जङ्गली जीवजन्तुका छाला र ११३ किलो हड्डी बरामद भएको थियो।
त्यसपछि तामाङको समूहमा रहेका अन्य सदस्य पक्राउ परे पनि उनी भने फरार भएका थिए। उनै तामाङलाई पन्थी र जोहारीले गत असारमा बौद्धबाट पक्राउ गरेका थिए। उनीहरुविरुद्ध 'रेड नोटिस' समेत जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।