काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत बुधबार राति अन्तिम दुई खेल हुँदै छन्। लाइपजिग, बार्सिलोना र युभेन्टसजस्ता टिम बाहिरिसकेको अवस्थामा क्वाटरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी छ।
नेपाली समयअनुसार राति पौने २ बजे हुने खेलमा जर्मन क्लब बायर्न म्युनिक र इटालियन क्लब लाजियो साथै इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एथ्लेटिको मड्रिड खेल्दै छन्। पहिलो लेगमा १-० ले पराजित भएको एथ्लेटिको मड्रिडका लागि दोस्रो लेग खेलमा फर्कने अवसर हुनेछ। उस्तै निरन्तरताको खोजीमा चेल्सी रहनेछ।
एथ्लेटिको मड्रिडविरुद्धको दोस्रो लेगको खेलमा चेल्सीका मेसन मोउन्ट र जर्जिनियो हुने छैनन्। थोमस टुखल प्रशिक्षकका रुपमा आएयता १२ खेलमा गरेको १३ गोलमध्ये जर्जिनियो र माउन्टले मात्र ६ गोल गरेका छन्। दुवै एक खेलको प्रतिबन्धमा रहँदा चेल्सीलाई केही कठिन हुन सक्नेछ। डिफेन्डर थियागो सिल्भा र स्ट्राइकर टामी अब्राहम पनि चोटका कारण खेलमा हुने छैनन्।
गएको वर्ष च्याम्पियन्स लिग अन्तिम १६ मा एथ्लेटिको मड्रिडले इंग्लिस टिम लिभरपुललाई हराएको थियो। अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको खेल गएको वर्षभन्दा लयमा रहेको बताइन्छ। जहाँ टुखल आएयता अपराजित रहेको चेल्सीको अवस्था सम्माजनक भइरहेको छ। यसैले यी दुई टिमबीचको खेल च्याम्पियन्स लिगमा रोचक हुनेछ।
एथ्लेटिको मड्रिडको गोलमा विशेष आश गरिएका स्ट्राइकर लुइस स्वारेजले च्याम्पियन्स लिग अवे खेलमा २०१५ को सेटेम्बरपछि गोल गर्न सकेका छैनन्। यो सिजन ला लिगामा २४ खेलमा १८ गोल गरिसकेका स्वारेजले च्याम्पियन्स लिगमा गोल गर्न सकेका छैनन्। यसैले टिमसँगै उनीमाथि पनि दबाब रहेको छ।
युरोपियन प्रतिस्पर्धामा विपक्षीको मैदानमा पहिलो लेग जितेको अवस्थाबाट चेल्सी कहिल्यै पनि बाहिरिएको छैन। पहिलो अवे खेल जितेपछिको १३ पटक नै चेल्सी अगाडि बढेको इतिहास छ। घरेलु मैदानमा पहिलो लेग जितेपछिको अवस्थाबाट भने दोस्रो लेगपछि चेल्सी दुई पटक बाहिरिएको छ। जुन १९९९-२००० को सिजन बार्सिलोनासँग र २००६-०७ को सिजन लिभरपुलसँग थियो।
एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन चेल्सीको मैदानमा खेलेका च्याम्पियन्स लिगका दुई खेलमा अपराजित छन्। जसमा एक खेल बराबरी र एक खेल एथ्लेटिको मड्रिडले जितेको छ। अहिले एक गोलले पछि रहेको अवस्थामा एथ्लेटिको मड्रिडमाथि फरक दबाब रहनेछ। यस्तोमा चेल्सी प्रशिक्षक टुखलले पनि प्रतिस्पर्धात्मक खेल हुने बताएका छन्।
के भन्छन् प्रशिक्षक?
थोमस टुखल, चेल्सी
पहिलो लेगमा जस्तै अहिले पनि हाम्रो लागि चुनौती ठूलो छ। पहिलो लेगमा हामीले उत्कृष्ट खेल देखाएका हौँ। अहिले पनि पहिलो लेगको जस्तै खेल देखाएर अघि बढ्न चाहन्छौँ। एथ्लेटिको मड्रिडलाई हराउन कति गाह्रो छ भन्ने हामीलाई थाहा छ। तर हामीले पनि आफ्नो योजना बनाएकै छौँ।
डिएगो सिमोन, एथ्लेटिको मड्रिड
हाम्रो एउटै लक्ष्य जित हो। हामी जहाँ चाहन्छौँ खेललाई त्यहीँ लिएर जान सक्नुपर्नेछ। यो खेल ८४औँ मिनेटमा पुगेर पनि जित्न सकिन्छ र १०औँ मिनेटमा नै जितमा बढ्न पनि सकिन्छ, किनभने जुनसुकै नतिजाको सम्भावना छ। हामीले उनीहरुबाट खेल खोस्नुपर्नेछ। उनीहरुले खेलबारे के सोचिरहेका छन् भन्ने हामीलाई थाहा छैन, तर हामीले के सोचेका छौँ भन्ने मलाई थाहा छ।
सम्भावित सुरुआती ११
चेल्सी- मेन्डी, एजपिलिक्युटा, क्रिस्टियनसन, रुडीगर, जेम्स, कान्टे, कोभेसिच, एलन्सो, हडसन ओडी, जिरउड, वेर्नर।
एथ्लेटिको मड्रिड- ओबलाक, ट्रिपियर, सेभिच, फिलिप, हेर्मोसो, कारास्को, लोरेन्टे, कोके, लेमार, कोरेया, स्वारेज।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।