काठमाडाैं- नाइजरको दक्षिणपश्चिमी क्षेत्र टिलाबेरीमा ५८ जनाको हत्या भएकाे छ। सोमबार बजारबाट गाडीमा फर्किँदै गरेका मानिसहरुको हत्या गरिएकाे अलजजिराले जनाएकाे छ।
नाइजरको सरकारले मंगलबार विज्ञप्ति जारी गर्दै टिलाबेरीमा साप्ताहिक हाटबजारबाट चारवटा गाडीमा फर्किरहेका यात्रुहरुमाथि हतियारधारी समूहले आक्रमण गरेको जनाएकाे छ।
यो क्षेत्र माली र बुर्किना फासोको सीमाक्षेत्रबाट नजिकै छ। यहाँ पछिल्लो समय इस्लामिक स्टेट (आईएस) र अल कायदाले हिंसात्मक आक्रमण गर्दै आएका छन्। तर, अहिलेसम्म सोमबारको नरसंहारको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।
नाइजरमा हतियारधारी समूहको मात्र नभई समुदाय समुदायबीचको द्वन्द्व जारी छ। आक्रमणकारीहरूले जनवरी २ मा टिल्लाबेरीको दुई गाउँमा कम्तिमा १०० नागरिकको हत्या गरेका थिए। जुन यो देशको इतिहासमै हालसम्म घटेकाे घातक घटना हो।
सामूहिक हत्याले नाइजरका नयाँ राष्ट्रपति मोहम्मद बाजुममाथि प्रश्नचिन्ह खडा गरेकाे छ। जसले फेब्रुअरीको अन्तमा निवर्तमान नेता महामादौ इस्सूफूलाई पराजित गर्दै चुनाव जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।