काठमाडाैं- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। प्रदेश सभा संसदीय दलको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता यामलाल कँडलेले नेपाल लाइभलाई बताए।
कर्णालीमा तत्कालीन माओवादीको नेतृत्वमा माओवादी र एमाले सम्मिलित सरकार थियो। ‘आजको बैठकबाट हामीले समर्थन फिर्ता लिने निर्णय गरेका छौं’, कँडेलले भने, ‘समर्थन फिर्ता लिने निर्णय भएकाले सरकारमा रहेका हाम्रो पार्टीका मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन दिइएको छ।’
प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा मन्त्री छन्। कर्णालीमा एमालेका सभामुखसहित २० जना सांसद छन्।
सभामुख बाहेक दलमा १९ जना रहेकोमा १० जना बैठकमा उपस्थित थिए। एमालेको माधवकुमार नेपाल पक्षका सातजना भने बैठकमा उपस्थित भएनन्। सरकारमा रहेका दुई जना मन्त्रीहरुको पनि यो निर्णयम समर्थन रहेको तर बैठकमा उपस्थित नभएको कँडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।