काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रको कूल बजेटको करिब ५९ प्रतिशत रकम रासायनिक मल आपूर्तिका लागि विनियोजन गरिएको बताएकी छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालयअन्तर्गत रासायनिक मल आपूर्तिका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको बताइन् ।
आगामी आवका लागि सङ्घीय निकायतर्फ ६० अर्ब ३० करोड, प्रदेशमा ससर्त अनुदानतर्फ सात अर्ब ७१ करोड, स्थानीय तहमा सशर्त अनुदानतर्फ तीन अर्ब २० लाख र वित्तीय व्यवस्थातर्फ दुई अर्ब १० करोड गरी मन्त्रालयको कूल बजेट रु ७३ अर्ब १२ करोड विनियोजन रहेको मन्त्री चौधरीले जानकारी गराइन् ।
उनका अनुसार कृषि बिमाका लागि दुई अर्ब १९ करोड, उखु कृषकलाई दिइने प्रोत्साहन अनुदानका लागि रु एक अर्ब ५० करोड, प्राङ्गारिक मलमा अनुदानका लागि रु ३५ करोड, कृषि अनुसन्धान कार्यक्रमका लागि रु दुई अर्ब ६४ करोड विनियोजन गरिएको छ । साथै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु दुई अर्ब ६२ करोड, पहाडी काष्ठफल तथा फलफूल विकास आयोजनका लागि वरु एक अर्ब ५३ करोड छुट्याइएको छ ।
त्यसबाहेक उच्च मूल्य कृषिवस्तु उत्थानशील आयोजनाका लागि रु एक अर्ब ४५ करोड राष्ट्रिय चुरे संरक्षण आयोजनाका लागि रु ९७ करोड, जलवायु उत्थानशील चुरे कार्यक्रमका लागि रु एक अर्ब, जैविक विविधता तथा जलाधार व्यवस्थापन कार्यक्रमका लागि रु ८८ करोड विनियोजन भएको उनले बताइन् ।
मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध हुने प्रतिबद्धता प्राप्त भएको उनले सुनाइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।