काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलास रंगशालामा सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्ज्युरी समयको पहिलो मिनेट ९१ मा मिकेल मेरिनोले गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो।
दुवै टोलीले खेलभर गोलका अवसर सिर्जना गरे पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन र गोलरक्षकहरूको शानदार बचाउका कारण खेल गोलरहित बराबरीतर्फ उन्मुख देखिएको थियो। तर अन्तिम समयमा मेरिनोले गरेको गोलले स्पेनलाई अन्तिम आठमा पुर्यायो।
यस हारसँगै क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ १६ मै टुंगिएको छ। अब स्पेनले क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।
सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।