काठमाडौं- च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार (आज) राति अन्तिम दुई खेल हुँदै छन्। लाइपजिग, बार्सिलोना र युभेन्टस जस्ता टिम बाहिरिसकेको अवस्थामा क्वाटरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी छ।
नेपाली समयअनुसार राति पौने २ बजे हुने खेलमा जर्मन क्लब बायर्न म्युनिक र इटालियन क्लब लाजियो तथा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एथ्लेटिको मड्रिड खेल्दै छन्। अन्तिम १६ को पहिलो लेगमा ४-१ ले जितेर बलियो अवस्थामा रहेको बायर्न लाजियोविरुद्धको दोस्रो लेगअघि बलियो अवस्थामा देखिन्छ।
घरेलु मैदानमा भएको च्याम्पियन्स लिग खेलमा बायर्न पछिल्लो समय बलियो अवस्थामा देखिन्छ। हान्सी फ्लिक प्रशिक्षकका रुपमा आएदेखि बायर्नले घरेलु मैदानमा खेलेको ६ खेल नै जितेको छ। जसमा औसत गोलको अन्तर १८-३ देखिन्छ। यसैले अहिलेको अवस्थामा बायर्नविरुद्ध लाजियोलाई सहज हुने छैन।
बायर्नमा गोलकिपर म्यानुअल निउरको स्वस्थ्यलाई लिएर प्रश्न उठिरहेका छन्। खेलअघिसम्म निउर ठीक हुने विश्वासमा प्रशिक्षक देखिन्छन्। बुन्डेस लिगामा शीर्ष स्थानमा अघि बढिरहेको बायर्नलाई यो सिजन पनि च्याम्पियन्स लिगको उपाधि जोगाउन सक्ने टिमका रुपमा नै हेरिएको छ।
के भन्छन् प्रशिक्षक?
हान्सी फ्लिक, बायर्न म्युनिक
हामीले च्याम्पियन्स लिग र बुन्डेस लिगा दुवैमा राम्रो खेल खेलिरहेका छौँ। हाम्रो अहिले उद्देश्य पनि यस्तै खेलको निरन्तरता हो। लाजियोविरुद्धको खेल पनि जितेर अघि बढ्न चाहन्छौँ। टिमको विश्वास बढाउनका लागि पनि जित आवश्यक छ।
सिमोन एन्जागी, लाजियो
यस्ता खेलहरु खेल्नका लागि कति मिहेनत गरेका छौँ, त्यो हामीलाई थाहा छ। हामी राम्रो खेल खेल्ने लक्ष्यमा छौँ। च्याम्पियन्स लिगमा यो सिजन यही पहिलो लेगबाहेक अरु खेल हाम्रो राम्रो भएको पनि हो। हामी राम्रो गरेर च्याम्पियन्स लिगमा अझ खेल्न चाहन्छौँ।
सम्भावित सुरुआती ११
बायर्न म्युनिक- नेउर, पभार्ड, सुलेर, अलाबा, डेभियस, रोका, गोर्तेज्का, साने, मुलर, गानबेरी, लेवान्डोस्की।
लाजियो- रेइना, प्याट्रिक, एसर्बी, राडु, मारुसिच, मिलिनकोभिक सेभिच, लुकास लेइभा, लुइस अल्बर्टो, लुलिक, कोरेआ, इमोबिल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।