चितवन–चितवनको एक सरकारी विद्यालय कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य छ। भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिका भुइँमै बसेर पढ्न बाध्य भएका हुन्।
विद्यालयमा अहिले २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक धीरबहादुर थापाले बताए। कोठा अभावमा नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएको उनको भनाइ छ।
विसं २०१९ मा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ। तीन जनाको सरकारी दरबन्दी रहेको विद्यालयमा चार निजी स्रोतका शिक्षक छन्।
आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ । विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए।
गत वर्ष भरतपुर महानगरपालिकाले विद्यार्थी कम भएको भनेर दुई जनाको दरबन्दी कटौती गरेको थियो। विद्यार्थी संख्याका आधारमा दरबन्दी फिर्ता गर्न आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ।
भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।