काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। इटालियन क्लब एटलान्टालाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा ३–१ गोलअन्तरले पराजित गर्दै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो।
मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा रियलले एटलान्टाविरुद्ध सहज जित निकाल्यो। योसँगै रियलले समग्रमा एटलान्टालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेगमा रियलसँग एटलान्टा १–० गोलले हारेको थियो।
खेलको ३४ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–० गोलको अग्रता दिलाए। खेलको ६० औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाए। तर खेलको ८३ औं मिनेटमा लुइस फेर्नान्डोले गोल गरेपछि एटलान्टाले २–१ को स्थिति बनाएको थियो।
त्यसको एक मिनेटपछि नै मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए। रियल मड्रिड अन्तिम आठमा प्रवेश गर्दा एटलान्टा भने अन्तिम १६ बाटै बाहिरिएको छ।
यसअघि बार्सिलोनालाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ। त्यस्तै, लाइपजिगलाई हराउँदै लिभरपुलले पनि अन्तिम आठमा स्थान बनाइसकेको छ।
यसैगरी, पोर्टोले युभेन्टस र बोरुसिया डर्टमन्डले सेभियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।