काठमाडाैं- अफ्रिकी राष्ट्र मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही अल–सबाब समूहले ११ र १२ वर्षका बालकको शिर काटेर हत्या गरेका छन्।
बेलायती मानव अधिकारवादी संस्था सेभ द चिल्ड्रेनका अनुसार आइएससँग सम्बन्धित समूहले ती दुई बालककाे शिर काटेर हत्या गरेकाे हाे।
एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन्। पीडित महिलाले भनिन्,'त्यो रात हाम्रो गाउमा विद्रोही समूहले आक्रमण गर्यो। हामी भागेर जङ्गलतिर जाँदै गर्दा उनीहरूले मेरो जेठो छोरालाई नियन्त्रणमा लिए र क्रुरतासाथ हत्या गरे।'
उनले अन्य तीन छोराछोरीसँग लुकेर बसेको स्थानबाट आफ्नो एक छोराको हत्या भएको हेर्नुपरेको बताएकी छन्। किनभने यदि उनी चिच्याएको भए उनीहरु सबैलाई ती आतिवादी समूहले हत्या गर्ने थिए। साथै उनले पछिल्लो समय बालकको हत्या गरी स्थानीयहरूलाई तर्साउने गरेको पनि बताइन्।
पीडित एक अर्की महिलाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताइएकी छिन्। मोजाम्बिकमा इस्लामिक विद्रोह र द्वन्द्वका क्रममा हजारौंको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्।
बीबीसीका अनुसार सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ २५ सयभन्दा बढी व्यक्ति मारिएको छ। यस्तै ७ लाखभन्दा बढी मानिस त्यहाँबाट भागेको समाचारमा उल्लेख छ।
समाचारमा जनाइएअनुसार उक्त समूहमा विशेषगरी काबो देलगाडोका बेरोजगार युवाहरु यस आवद्ध छन्। यो समूहले सरकारबाट गरिब तथा मुस्लिमहरु हेपिएको बताउँदै समान आर्थिक हैसियतको माग गरेका छन्।
उनीहरुले रुबी र ग्यास उद्योगबाट हुने फाइदाबाट स्थानीयलाई बन्चित गरिएको आरोप लगाएका छन्। अल–सबाबले देशमा मुस्लिम सरकार हुनुपर्ने पनि माग गरेका छन्। यी समूहले गतवर्ष एके–४७ अटो राइफल, रकेट बम, ग्रिनेडहरुको तस्वीरहरु सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।