काठमाडाैं- म्यानमारमा सैनिक शासनविरूद्ध प्रदर्शनमा मारिएका दर्जनौं व्यक्तिको सामूहिक अन्त्येष्टि गरिएको छ। सैन्य कानून उल्लंघन गर्दै मृतकका परिवार मंगलबार अन्त्येष्टिमा भाग लिएका हुन्।
आइतबार यङ्गुनमा कम्तिमा ७४ जनाको सरकारी सुरक्षा फौजले हत्या गरेको थियो। त्यसमध्ये ३१ बर्मेलीको मंगलबार यङ्गुनको एक शवगृहमा सामूहिक अन्त्येष्टि गरिएको हो। सयौं युवाहरू यङ्गुनमा आइतबार मारिएका मेडिकल विद्यार्थी खन्त न्यायर हेनको अन्त्येष्टिमा सडक बाहिर निस्केका थिए।
सेतो एर्पोनमा निस्किएका मेडिकल विद्यार्थीहरू अन्त्येष्टिको क्रममा सरकारविरुद्ध नारा लगाएका थिए, ‘हाम्रो क्रान्तिले विजय हासिल गर्नैपर्छ।’
फ्रेबुअरी १ देखि सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा १८४ जनाकाे ज्यान गएकाे राजनीतिक कैदी सहायता सहयोग संगठन (एएपीपी)ले जनाएको छ। तीमध्ये केहीकाे शव अझै सरकारी सुरक्षा फौजसँगै रहेकाे तिनका परिवारहरुले आराेप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।