काठमाडौं- तोकिएभन्दा बढी लोड बोक्ने मालवाहक सवारीसाधनलाई ‘स्पटमै’ कारबाही गरिने भएकाे छ। चैत १५ देखि बढी लाेड बाेक्ने मालवाहक सवारीसाधनलाई कारबाही गरिने यातायात व्यवस्था विभागले जनाएकाे हाे।
विभागले मंगलबार एक सूचना जारी गर्दै मालबाहक सवारीसाधनको भारबहन नियमन सम्बन्धी निर्देशिका, २०७४ को व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ। विभागका अनुसार अब प्रत्येक मालवाहक गाडीको तौल पुलले दिने लोड क्षमता चेक गरिने छ र, ओभरलोड भए कारबाही गरिनेछ।
निर्देशिकाअनुसार तोकिएको भारबहन क्षमताभन्दा बढी भार बोकेर आएका मालवाहक सवारीसाधनले प्रचलित कानुन अनुसार जरिवाना गर्नुका साथै बढी भएको सामान झारेर सवारी धनीले भण्डारणको व्यवस्था मिलाउनु पर्नेछ।
त्यस्तै, भार छुट्याउन नमिल्ने सामानको कुल तौल तोकिएको भन्दा बढी भइ ढुवानी गर्नु परेको अवस्थामा नजिकको यातायात व्यवस्था कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र ढुवानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। विभागले उक्त निर्देशिका कडाइका साथ कार्यान्वयन गर्न लागेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।