काठमाडौं- धम्बोझी क्लब बाँके र धादिङ समाजले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा विजयी सुरुवात गरेका छन्। नेपालगञ्जमा मंगलबार भएको खेलमा धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ।
खेलमा धम्बोझीको लागि पुर्णबहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए। अर्को खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो।
धादिङका कप्तान अमिर श्रेष्ठले ह्याट्रिकसहित चार गोल गरे। अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए। सिशिर लेखीले पनि ६४, ७९ र ८२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यस्तै, धादिङका लागि उमेश राई र बिपिन कँडेलले १–१ गोल थपे।
लेकालीका कप्तान संगम शाहीले एक गोल फर्काए। प्रतियोगिता अन्तर्गत बुधबार एक मात्र खेल हुनेछ । जसमा प्रदेश १ को सैनिक फुटबल क्लब झापाले सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीसँग खेल्नेछ। नेपालगञ्जमा सोमबारदेखिी सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा सात टोलीको सहभागिता रहेको छ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलाली रहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन । एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चार टिम राष्ट्रिय लिगमा प्रवेश गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।