काठमाडाैं- सार्वजनिक स्थलमा बुर्कामा प्रतिबन्ध लगाउने श्रीलंकाकाे निर्णयप्रति पाकिस्तानले आपत्ति जनाएको छ। बुर्का प्रतिबन्धको निर्णयले मुलुकभित्र र बाहिरका मुस्लिमको भावनामा ठेस लाग्ने भन्दै पाकिस्तानले आपत्ति जनाएकाे हाे।
श्रीलंकाका लागि पाकिस्तानी दूत साद खट्टकले आर्थिक समस्याका साथै सुरक्षाको नाममा चालिएको यो कदम विभाजनकारी भएकाे टिप्पणी गरेका छन्।
‘श्रीलंका आर्थिक समस्याको सामना गरिरहेको छ, अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमा आफ्नो छविको विषयलाई लिएर विभिन्न चुनौतीको सामना गरिरहेको छ। यस्तोमा सुरक्षाको नाममा चालिएको यो विभाजनकारी कदमले श्रीलंकामाथि अल्पसंख्यक र मानवाधिकारको विषयलाई लिएर उठिरहेको प्रश्न अझै जोडदाररुपमा उठ्नेछ,’ सामाजिक सञ्जाल ट्वीटरमार्फत् खट्टकले लेखेका छन्।
श्रीलंकाली सरकारले आइतबार देशको अल्पसंख्यक मुस्लिम जनसंख्यालाई असर पारेको भन्दै बुर्कामाथि प्रतिबन्ध लगाउने तयारी भइरहेकाे जनाएकाे थियाे। सार्वजनिक सुरक्षामन्त्री सारथ वीरासकेराले शुक्रबार एक पत्रकार सम्मेलनमा बुर्कामाथि प्रतिबन्ध लगाउन क्याबिनेटमा हस्ताक्षर संकलन गरिन लागेकाे बताएका थिए।
२०१९ मा इस्लामिक आतंकवादीहरूले श्रीलंकाकाे चर्च र होटेलमा २५० भन्दा बढीको ज्यान जानेगरि बम विष्फोट गरेपछि बहुसंख्यक बुद्धिस्ट राष्ट्रमा बुर्कामाथि अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।