काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा मंगलबार (आज) राति दुई खेल हुँदै छन्। जसमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब एटलान्टा साथै इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाख खेल्दै छन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
यसअघि बोरुसिया मोन्चेनग्लादबाखसँगको पाँच खेलमा म्यानचेस्टर सिटी अपराजित रहेको छ। जसमा चार खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ। जहाँ चार जितमा हरेक खेलमा दुई गोल गरेकै छ। यसै सिजन अन्तिम १६ को पहिलो लेगमा पनि म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लादबाखलाई २-० ले हराएको थियो।
प्रशिक्षक मार्को रोजले भनेजस्तो म्यानचेस्टर सिटीलाई अन्तिम १६ बाट बाहिर पठाउन मोन्चेनग्लादबाखले असाधारण खेल देखाउनुपर्नेछ। म्यानचेस्टर सिटी यो सिजन प्रिमियर लिगमा पनि लयमा देखिएको छ। लिगमा ३० खेलमा ७१ अंक रहेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ। जहाँ जर्मन बुन्डेस लिगामा मोन्चेनग्लादबाख २५ खेलमा ३३ अंकसहित १०औँ स्थानमा छ।
पहिलो लेगको जितले २-० को सहज अवस्थामा रहेको म्यानचेस्टर सिटीले दोस्रो लेगका खेलमा दबाब महसुस गर्ने छैन। सबै प्रतिस्पर्धामा गरेर पेप गार्डिओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीले पछिल्ला २४ खेलमा २३ खेल जितेको छ। यसैले मोन्चेनग्लादबाखविरुद्ध सिटीले बलियो खेल देखाउने अनुमान गरिएकाे छ।
के भन्छन् प्रशिक्षक?
पेप गार्डिओला, म्यानचेस्टर सिटी
हामी मोन्चेनग्लादबाखलाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छौँ। यो टिम सिटीमा अहिलेसम्मको राम्रो टिम हो? त्यस्तो होइन। पहिले टिमले धेरैथोक जितेको थियो, जहाँ यो टिमले उपाधि जित्न बाँकी नै रहेको छ। हामी कुनै परिणाम र नतिजाका आधारमा मान्य हुने अवस्थामा छौँ। त्यसैले यो टिमले उपाधि जितेर आफूलाई प्रमाणित गर्न बाँकी नै छ।
मार्को रोज, मोन्चेनग्लादबाख
यो हाम्रा लागि महत्वपूर्ण खेल हो। यो च्याम्पियन्स लिगको प्रतिस्पर्धा हो, त्यसैले यहाँ आइपुग्न हामीले धेरै मिहेनत गरेका छौँ। हामीले पहिलो लेगको खेलमा २-० ले गुमायौँ तर हामी त्यसलाई बदल्ने प्रयासमा हुनेछौँ। यो पटक राम्रो खेल प्रदर्शन गर्ने प्रयासमा रहनेछौँ।
सम्भावित सुरुआती ११
म्यानचेस्टर सिटी- एडर्सन, वाल्कर, रुबेन डायस, लापोर्ता, जिनचेन्को, रोड्री, गुन्डोगन, फेरान टोरेस, डि ब्रायन, स्टर्लिङ र अग्युरो।
मोन्चेनग्लादबाख- सोम्मेर, लेनर, जेन्टर, एलभेडी, बेन्सेबाइनी, जाकारिया, न्युहोस, हफम्यान, स्टेन्डल, वुल्फ र पेला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।