काठमाडाैं- कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएकाले सरकारबाट पाएको सहयोगको जानकारी गराउन संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड-१९ बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान तथा रोजगारी गुमाएका एवं स्वदेश फर्किएकाहरुको यथार्थ सदनलाई जानकारी गराउन माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो।
कांग्रेस सांसद डिला संग्रौला प्रस्तावक, कांग्रेसकै सांसदद्वय देवप्रसाद तिमिल्सिना र रंगमती शाही समर्थक रहेको सार्वजनिक महत्वको प्रस्तावमा वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमा रहेका बेरोजगारहरुलाई सरकारले उपलब्ध गराएको रोजगारी एवं राहतको जानकारी गराउन माग गरिएको छ।
रोजगारी सिर्जना गर्न प्रदेश सरकार र स्थानीय तहसँग केन्द्र सरकारले गरेका कार्यको सदनमा जानकारी गराउन माग गरिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारका के के योजना छन्? संसद्मा जानकारी दिन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग माग गरिएको छ। श्रम सम्झौता भएका मुलुकमा अनुगमन नभएकोप्रति समेत कांग्रेसले प्रश्न उठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।