काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति दुई खेल हुँदैछन्। जसमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब एटलान्टा साथै इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाख खेल्दैछन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले एटलान्टालाई १–० ले हराएको थियो। जसमा रियल मड्रिडका लागि ८६औँ मिनेटमा फेर्लान मेन्डीले गोल गरेका थिए। खेलको १७औँ मिनेटमा नै रेमो फ्रयुलेर रातो कार्ड पाएर बाहिरिएपछि एटलान्टा दबाबमा परेको थियो। १० खेलाडीमा सीमित एटलान्टाविरुद्ध रियल मड्रिडले दबाब बनाउन मुस्किल देखिएको थियो।
पछिल्ला नौ च्याम्पियन्स लिगमा रियल मड्रिडले अवे मैदानमा पहिलो लेगको खेल जितेको अवस्थामा आठ पटक अगाडि बढेको इतिहास रहेको छ। पछिल्लो समय २०१८–१९ को च्याम्पियन्स लिगमा भने रियल मड्रिड आयाक्ससँग दोस्रो लेगमा ४–१ ले हार्दै बाहिरिएको थियो।
एटलान्टासँगको दोस्रो लेगको खेल रियल मड्रिडका लागि सहज हुने छैन। पहिलो खेलको अवस्थालाई विचार गर्दा पनि रियलका लागि सुधारका स्थान देखिन्छन् नै। फिट रहेका सर्जियो रामोसका कारण रियल मड्रिडको मनोबल केही उच्च देखिन्छ। इटालियन लिगमा राम्रो गरिरहेको एटलान्टाले च्याम्पियन्स लिगमा अट्याकमा बढेर नै खेल्ने योजना बनाएको देखिन्छ।
के भन्छन् प्रशिक्षक?
जिनेदिने जिदान, रियल मड्रिड – अग्रताको अवस्था बिर्सिएर हामी खेलमा बढ्नुपर्छ। हामीले अहिलेसम्म खेल जितिसकेका होइनौँ त्यसैले संयोजन मिलाएर सचेत भएर नै खेल्नुपर्ने हुन्छ। पहिलो लेगको नतिजाका आधारमा हामी अगाडि बढ्यौँ भन्ने सोच्नु हुँदैन। यो हाम्रा लागि फाइनल सरह हो। राम्रो खेल खेल्नुपर्नेछ।
जान पिएरो गास्परेनी, एटलान्टा – पहिलो लेगभन्दा अगाडिको अवस्थामा रियल मड्रिड जितको रोजाइँमा थियो। अहिले त्यो रोजाइँ अझ बढेको छ। तर हामी अझै पनि खेल फर्काउन सक्ने अवस्थामा नै छौँ। हामी राम्रो खेल खेल्ने छौँ। विश्वको सर्वाधिक सफल मध्येको क्लबसँग हाम्रो खेल राम्रो हुनेछ भन्ने आश गरौँ। खेलमा सुरुको केही मिनेट नै महत्वपूर्ण हुनेछ।
सम्भावित सुरुवाती एघार
रियल मड्रिड – कोर्टुवा, भास्क्वेज, भारान, रामोस, मेन्डी, क्रुस, इस्को, मोडरिच, भालभर्दे, भिनिसियस र बेन्जेमा।
एटलान्टा – गोलिनी, टोलोइ, रोमेरो, पालोमिनो, मैहेल, डि रुन, पासालिच, गोसेनेस, पेसिना, म्युरियल र जापाटा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।