काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन्।
राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे पूर्वप्रधानमन्त्रीहरूसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसमेतको सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।
सर्वदलीय बैठकमा नेपाल र खनाल दुवै जना सहभागी नहुने एमाले नेता विष्णु रिजालले बताए।
यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने बताएका थिए। स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनले बताएका हुन्।
‘कोरोना विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा अझै सुधार आएको छैन। डाक्टर'साब बिसन्चो नै हुनुहुन्छ। अन्य कुनै राजनीतिक कारण अनुपस्थित हुने भन्ने होइन,' भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने। स्वास्थ्यमा समस्या आएपछि भट्टराई संसद् बैठक सकिएलगत्तै आराम गर्न सिधै निवास पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।