काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी बैठक भर्खरै सुरु भएको छ। दिउँसो २ बजेदेखि सुरु हुने भनिएको पदाधिकारी बैठक आधा घण्टा ढिलोगरी पार्टी कार्यालय बालकुमारीमा सुरु भएको नेता केशव झाले बताए।
‘हामीले चैत ५ गते कार्यकारिणी समितिको बैठक बोलाएका छौं। त्यही बैठकको अजेण्डा तय गर्न पदाधिकारी बैठक बसिरहेको छ। सरकारमा जाने/नजाने सबै विषय केन्द्रीय कार्यकारिणी समितिले मात्रै निर्णय गर्छ,’ नेता झाले भने,‘सरकारका विषयमा जसपाको निर्णय कुर्न कार्यकारिणी बैठकलाई कुर्नुपर्ने भयो।’
सरकारमा जाने विषयमा दुई धार भएपछि पदाधिकारी बैठकले निर्णय गर्न नसकेपछि कार्यकारिणी समितिको बैठक बोलाएको हो। महन्थ ठाकुर पक्षलगायत नेताहरु केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्छ भन्ने विषयमा सकारात्मक छन्। तर, बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओली सरकारको विकल्प खोजेर कांग्रेस-माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छन्। पदाधिकारी बैठकमा सरकारमा जाने विषयमा मत बाझिएपछि कार्यकारिणी समितिले टुंगो लगाउने भएको छ।
यसअघि पदाधिकारी बैठकले तीन दलसँग सत्ता साझेदारीका लागि छलफल गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम जसपाका पदाधिकारीले प्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए।
जसपाको पदाधिकारी बैठकलाई निर्णय गर्ने अधिकार नभएकाले कार्यकारिणी समिति बैठक बोलाएको हो। केन्दीय कार्यकारिणी समिति ५१ जनामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।