काठमाडाैं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा अनिर्णयको बन्दी भएको आरोप लगाएका छन्।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर केपी शर्मा नेतृत्वको सरकार तत्काल हटाउनुपर्ने उनले बताए। ‘जसपाका नेताहरुलाई केपी ओली जीले जेजे आश्वासन दिनुभएको छ। जेजे दिन्छु गर्छु भन्नुभएको छ। त्यो हामीले दिन्छौं\गर्छौ भनिदिउँ। सभापतिलाई गत शुक्रबार भनेको बोली स्मरण गर्दै पौडेलले भने, ‘जसपा माओवादी केन्द्रसँग मिलेर यो सरकार ढालिदिऔं।’
गत शुक्रबार महामन्त्री शशांक कोइरालाको निवासमा संस्थापनइतरका नेताहरुको बैठकले सभापति देउवालाई प्रधानमन्त्री स्वीकार्ने निर्णय गरेको थियो। ओलीको प्रतिस्थापन गर्ने अग्रसरता कांग्रेसले लिनुपर्ने नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षको निचोड थियो। सभापतिले अग्रसरता नलिएको प्रति खिन्नता प्रकट गर्दै पौडेलले भने, ‘अनिर्णयकाे बन्दी हाम्रो पार्टी बनिरहेको छ। सभापतिकोे उदासिनता भन्ने कि के भन्ने यो मलाई रहस्यमय लागेको छ।’
सभापति देउवा अनिर्णित हुँदा गतिरोध कायम रहेको जसपाका नेताले सुनाएको उनले बताए। प्रेस युनियनले पोखरामा गरेको कार्यक्रममा पौडेलले आफू काठमाडौ छोड्नुअघि सभापतिलाई दोधारमा नबस्न आग्रह गरेको सुनाए।
प्रदेश १, बागमती प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा प्रस्तावको पक्षमा रहेर प्रदेश सरकार हटाउने निर्णय गर्न पार्टीमा कुरा उठाएको उनले स्मरण गरे। ‘अविश्वासको प्रस्ताव ल्याऔं, सरकार ढलाइदिन्छौं कांग्रेसले भन्नुपर्ने हो,’ पौडेलले भने।
सभापतिको वर्तमान चरित्र ढुलमुले भएको उनले टिप्पणी गरे। राष्ट्रको राजनीतिलाई अराजकतामा लान खोजिएको आराेप पनि उनले लगाए। ‘राजनीति उल्टोतिर जाने मैले देखिरहेको छु। राष्ट्रिय र अन्तराष्ट्रिय धेरै खेल भइरहेका छन्,’ पाैडेलले भने, ‘अनेकथरी खेलाडी छन् नेपालमा। खेल अन्तराष्ट्रिय खेलाडीको हातमा जान नदिएर हाम्रै हातमा राख्नुपर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।