काठमाडौं– राष्ट्रिय फुटबल टिमका नियमित सदस्य विशाल राई फ्रेन्चाइज टिम धनगढी एफसीका ‘मार्की खेलाडी’मा अनुबन्धित भएका छन्। आगामी बैशाखमा सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को टिम धनगढीले आफ्नो मार्की खेलाडीमा विशाल राईलाई अनुबन्धित गरेको हो।
गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले सुपर लिगका टिमले एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार मिडफिल्डर विशाललाई अनुबन्धन गरेको हो। टिमको लागि अन्य खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको धनगढी एफसीले जानकारी दिएको छ।
विशाल राईको अनुबन्धनले टिमले नेपाल सुपर लिगमा राम्रो प्रदर्शन गर्ने धनगढी एफसीको विश्वास छ। धनगढी एफसीका अध्यक्ष सुवास शाहीले सम्झौतापछि विशाललाई मार्की खेलाडी बनाउन पाउँदा खुशी रहेको बताए। उनले भने, ‘हाम्रो टिममा राष्ट्रिय टिमका उत्कृष्ट मिडफिल्डर विशाल राईलाई मार्की प्लेयरको रुपमा स्वागत गर्न पाएकोमा एकदमै खुशी छौं। उनको आगमनले टिम राम्रो बन्ने नै छ। हाम्रो टिमले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छु ।’
क्लबमा अनुबन्धित भएपछि विशालले अरु टिमले पनि मार्की खेलाडीको लागि प्रस्ताब गरे पनि धनगढीको योजना र व्यवस्थापन राम्रो लागेको बताए। उनले भने, ‘मलाई सुपर लिगका अरु टिमहरूले पनि प्रस्ताव गरेका थिए। तर, धनगढी एफसीको प्रस्ताव, योजना र टिम व्यवस्थापनको पक्ष मलाई राम्रो लाग्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।