काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बार्सिलोनाले हुएस्कालाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
सोमबार राति घरेलु टिम बार्सिलोनाले हुएस्कालाई सहजै पराजित गरेको हो। कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा एन्टोनी ग्रिजम्यान र ओस्कार मिन्गुएजाले १–१ गोल थपे। हुएस्काका राफा मिरले एक गोल फर्काए।
खेलको १३ औं मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। ३५ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो। तर पहिलो हाफको अन्तिम समयमा हुएस्काले पेनाल्टी पायो। पेनाल्टीबाट राफा मिरले गोल गर्दै २–१ को स्थितिमा पुर्याए।
दोस्रो हाफमा थप दुई गोल गर्दै बार्सिलोनाले हुएस्काविरुद्ध फराकिलो जित निकालेको हो। ५३ औं मिनेटमा ओस्कार मिन्गुएजाले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाए। ९० औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४–१ को जित निकालेको हो।
यो जितेसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाउँदै चारमा झारेको छ। दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २७ खेलबाट ५९ अंक भएको छ। २७ खेलबाट २० अंक बनाएको हुएस्का भने लिगको पुछारमा छ। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक छ। तेस्रो स्थानमा झरेको रियल मड्रिडको समान खेलबाट ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।