काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले टोटनह्यामलाई २–१ ले हरायो। जसमा इरिक लामेलाको उत्कृष्ट ‘रेबोना’ गोलमा अग्रता बनाइसकेर पनि टोटनह्याम पछि परेको थियो। तर, त्यसै गोलले हारपछि पनि लामेलाको खुब तारिफ भइरहेको छ।
खेलको १९औँ मिनेटमा नै टोटनह्यामका सन ह्युङ मिन घाइते भएर बाहिरिएपछि उनको स्थानमा लामेलालाई मैदान प्रवेश गराइएको थियो। खेलको ३३औँ मिनेटमा लामेलाले विश्व फुटबलमा विरलै देखिने उत्कृष्ट गोलमार्फत् अग्रता दिलाएका थिए। तर, ४४औँ मिनेटमा मार्टिन ओडेगार्ड र ६४औँ मिनेटको पेनाल्टीमार्फत\ अलेक्जान्ड्रे लाकाजटेको गोलमा आर्सनल विजयी भयो।
धेरैले लामेलाको गोल यो सिजनकै उत्कृष्ट भन्दै तारिफ गरिरहेका छन्। आर्सनलका थोमस पार्टेको खुट्टामुनिबाट उनले गजबको सटमार्फत् पोस्टको देब्रे कुनामा ‘रेबोना’ गोल गरेका थिए। आर्सनल र टोटनह्यामको खेल प्रत्यक्ष हेरिरहेका फुटबल पण्डितहरुले लामेलाको गोललाई धेरैबेर बहसको विषय पनि बनाए।
क्रिस्टल प्यालेसका पूर्वस्ट्राइकर एवं फुटबल विश्लेषक क्लिन्टन मोरिसनले भनेका छन्, ‘मैले भर्खरै जे देखेँ त्यसमा विश्वास गर्न सकिरहेको छैन। यो सिजनकै उत्कृष्ट गोलमध्ये हो। गजबको विश्वस्तरीय फिनिसिङ।’
इंग्ल्यान्डका पूर्वस्ट्राइकर तथा फुटबल विश्लेषक गेरी लिनेकरले पनि आर्सनलविरुद्धको गोल लामेलाकै उत्कृष्ट अर्को रेबोना गोलसँग तुलना गर्न नमिल्ने रहेको बताए। लामेलाले २०१४ मा युरोपा लिगमा रेबोना गोल गरेका थिए। ‘लामेलाको गोलको बारेमा भन्नुपर्दा यो उनैले यसअघि गरेको गोलभन्दा उत्कृष्ट भने होइन’ लिनेकरले भनेका छन्।
बिबिसीका फुटबल पत्रकार जोन मुर्रेले पनि यस्तै गोल आफूले फेरि हेर्न पाउनेमा शंका रहेको बताउँदै लामेलाको तारिफ गरे। खेलमा उनै लामेला ७६औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।