नयाँदिल्ली- कोरोना भाइरसका संक्रमित तीव्र रुपमा बढ्न थालेपछि भारतको महाराष्ट्रस्थित नागपुरमा लकडाउन लागू भएको छ।
सोमबारदेखि लागू भएको लकडाउन एक हप्तासम्म कायम रहने टाइम्स अफ इन्डियाले जनाएको छ। लकडाउन पालना गराउन शहरका विभिन्न स्थानमा प्रहरी तैनाथ गरिएकाे छ। ‘सहरभर गस्ती जारी राखिएको छ। बिना काम घर बाहिर निस्किए कारवाही गरिने छ,’ नागपुरका प्रहरी प्रमुख अमितेश कुमारले भनेका छन्।
भारतमा कोरोनाका कारण सर्वाधिक प्रभावित राष्ट्रमध्ये महाराष्ट्र पनि एक हो। यहाँ २३ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ।भारतमा कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।
गत २४ घण्टामा मात्रै २६ हजार २९१ जनामा काेराेना को संक्रमण देखिएकाे थियाे। भारतमा गत २४ घण्टामा काेराेना संक्रमणको कारण ११८ जनाको मृत्यु भएकाे थियाे। याेसँगै मृतककाे संख्या एक लाख ५८ हजार ७२५ पुगेको छ।
हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यसैबीच संक्रमण सुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरसमुक्त भएका छन्।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो आइतबार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको काेराेना परीक्षण भएको पनि समाचारमा जनाइएको छ।
भारतमा गत जनवरी १६ देखि काेराेना विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो। सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।