काठमाडाैं- चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी चीनका अन्य भागबाट व्यापक आँधीबेहरी आएकाे छ। सोमबार इन्नर मंगोलियाबाट धुलाम्मे आँधी आएर चीनकाे गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको अलजजिराले जनाएकाे छ।
चाइना मिटियोरोलोजिकल एडमिनिस्ट्रेसनले आज बिहान येल्लो अलर्ट घोषणा गरेको छ। बेइजिङको आधिकारिक वायु गुणस्तर सूचकांक बिहान ५०० पुगेको थियो। भिजिबिलटी पनि ३०० देखि ८०० मिटरमा सीमित भएको थियो।
यता मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले सोमबार जानकारी दिएको छ। उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ।
दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ।
हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ। आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ ।
स्थानीय सरकारले सबै विद्यालयलाई बाहिरी भागमा खेलिने खेलकुद रद्द गर्न भनेको छ र श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरैमा बस्न भनेको छ।
धुलाम्मे हावाबाट बच्नका लागि कालो चश्मा (गगल), मास्क र हेयर नेट उपयोग गर्न सुझाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।