काठमाडौं- राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायभित्रका थरहरू सूचीकृत गर्ने भएको छ। विभिन्न थर रहेका कारण मुस्लिम समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थर सूचीकृत गर्ने तयारी गरेको हो।
आयोगको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले थर सूचीकृत गर्ने जानकारी दिएका हुन्। थर सूचीकृत गर्नको निम्ति आर्थिक वर्ष २०७६/७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययनसमेत भएको उनले बताए। हालसम्म ४५ वटा थर फेला परेको र थप अध्ययन गरेर सार्वजनिक गरिने उनको भनाइ छ।
आयोगले २०७६/७७ मा मुस्लिम समुदायको जनसंख्या धेरै भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी एक सय ३१ जनालाई सिलाइ कटाइ तालिम, ब्युटिपार्लर तालिम तथा सवारीसाधन मर्मत तालिम प्रदान गरेको जानकारी दिएको छ। त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीको भनाइ छ।
मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका दुई सय ३६ मदरसासम्बन्धी तथ्यांक र सूचनाहरू संकलन गरिएको पनि उनले बताए। मदरसामा पढ्दै गरेका विद्यार्थी छात्राहरूलाई बाहिरको सरकारी तथा निजी विद्यालयमा पढ्दा पोसाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरूलाई सहज हुने पोसाक लगाउन वातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरिएको अध्यक्ष अन्सारीले जानकारी दिए।
गत आर्थिक वर्षमा आयोगलाई प्राप्त भएको पाँच करोड ६ लाख ८३ हजार रूपैयाँमध्ये दुई करोड ५१ लाख ६४ हजार खर्च भएको आयोगले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।