काठमाडौं- इटालियन क्लब युभेन्टसमा रहेका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ब्राजिलियन प्रसिद्ध फुटबल खेलाडी पेलेले बधाई दिएका छन्। फुटबल जीवनमा सर्वाधिक ७७० गोल बनाउँदै आफ्नो कीर्तिमान तोडेकोमा पेलेले रोनाल्डोलाई बधाई दिएका हुन्। यसअघि पेलेको नाममा सर्वाधिक ७६७ गोलको कीर्तिमान थियो।
इटालियन सिरी ए मा गएराति युभेन्टसले काग्लियरीलाई ३-१ ले पराजित गरेको खेलमा रोनाल्डोले ३२ मिनेटभित्र ह्याट्रिक पूरा गर्दै पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका हुन्। खेलको १०औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका रोनाल्डोले २५औँ र ३२औँ मिनेटमा थप गोल गरेका थिए। काग्लियरीका लागि सिमोनले ६१औँ मिनेटमा गोल गरे।
‘मानिसको जीवन आफैंसँगको लडाइँ रहेछ। जहाँ हरेकले आफ्नो यात्रा आफैं गर्छन्। जहाँ तिम्रो यात्रा कति सुन्दर भइरहेको छ। म तिम्रो असाध्यै प्रशंसा गर्छु। तिमी खेलेको हेर्न खुब मन पर्छ यो कुनै लुकेको विषय होइन। अफिसियल खेलमा मैले बनाएको गोलको कीर्तिमान तोडेकोमा तिमीलाई बधाई,’ इन्स्टाग्राममा पेलेले लेखेका छन्।
रोनाल्डोले गरेको गोलको यो संख्या विश्व कीर्तिमान हो भन्नेमा बहस पनि चलिरहेको छ। तर, चेक फुटबल एसोसिएसनले भने चेकोस्लोभाकियाका खेलाडी जोसेफ बिकानले ८२१ गोल गरेको उल्लेख गर्दै आइरहेको छ। त्यसमा अफिसियल खेलको गोल संख्या हो या अन्य खेलमा पनि समावेश भएको छ भन्ने विवाद देखिन्छ।
खेलको तथ्याङ्क राख्ने गरेको ‘रेक स्पोर्ट सकर स्टाटिसटिस्क फाउन्डेसन’ले भने जोसेफको अफिसियल खेलमा गरेको गोलको संख्या ७५९ रहेको जनाएको छ। जुन पेले र रोनाल्डोको गोल संख्याभन्दा कम हो।
रोनाल्डोले पनि पेलेको कीर्तिमान तोडेको विषयमा इन्स्टाग्राममार्फत नै लामो सन्देश लेखेका छन्। ‘यो आधिकारिकताका लागि निकै आभारी छु। म सधैँ पेलेको प्रशंसक रहिआएको छु। उनीप्रति ठूलो सम्मान छ। हामीले आफूअनुकुल इतिहासलाई मेट्दै जानु हुँदैन। उनले गरेका हरेक गोलको महत्त्व ठूलो थियो। पेलेको फुटबलबारे नसुनेको, नबुझेको को होला र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।