काठमाडौं– आइतबार गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखाना बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी भयो। चोरी गर्ने व्यक्तिको प्रहरीले पहिचान गर्दा सिनमा देखिए मकवानपुरको हाडीखोला घर भई काठमाडौं बस्ने ३६ वर्षीय खन्ती। खन्ती उर्फ सुकलाल वाइवा।
खन्ती भनेर चिनिने वाइवालाई पक्राउ गर्न महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली परिचालित भयो। दिउँसो २ बजेतिर गोकर्णेश्वर उत्तरबाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गर्न लाग्दा उनी फरार भए। प्रहरीले पच्छ्याउँदै गएपछि खन्ती गोकर्णको खोँचको रुखमा चढे ।
मर्छु भन्दै रुखबाट हामफाल्न लागेपछि फिल्डमा खटिएको प्रहरी टोली वृत्तका डिएसपी नवीन कार्कीलाई घटनाको रिपोर्ट गर्यो । कुनै दर्घटना हुनसक्ने सम्भावना रहेकाले डिएसपी कार्कीले यसको रिपोर्टिङ महानगरीय प्रहरी परिसरमा गरे। परिसरबाट डिएसपीको कमाण्डको टोली, विपद व्यवस्थापनको उद्दार टोली घटनास्थलमा परिचालित गरियो।
आत्महत्या गर्नका लागेको भन्ने जानकारी नेपाल प्रहरी अस्पताललाई समेत गराइयो । त्यसपछि प्रहरी अस्पतालको मानसिक रोग विशेषज्ञ डाक्टर प्रहरी उपरीक्षक आशिष दत्त समेत घटनास्थल पुगे। यतिन्जेलसम्म रुख चढेर मर्छु भन्दै आत्महत्या गर्न लागेका खन्ती रुखमै थिए।
डाक्टर दत्तले १ घण्टा काउन्सिल गरे। त्यति गर्दा समेत उनी रुखबाट झर्न मानेनन्। त्यसपछि विपद व्यवस्थापनको टोली ३० फिट तल भीरमा गई खन्तीलाई रुखबाट सुकशल उद्दार गर्न सफल भएको काठमाडौं परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
रुख चढेर आत्महत्या गर्छु भन्दै हामफाल्न लागेका खन्तीलाई वृत्त बौद्ध, काठमाडौं परिसर, विपदको टोली, प्रहरी अस्पतालको टोलीको सहयोगमा ४ घण्टापछि उद्दार गरियो। पक्राउ परेका खन्तीलाई चोरीको कसुरमा म्याद लिएर अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।