काठमाडौँ- काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गर्ने तयारी गरेको छ। दरबार हाइस्कुल र वीर अस्पताल पुननिर्माणको कार्य सम्पन्न हुन लागेपछि ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री हटाई खुलामञ्च खाली गर्न लागिएको महानगरले जानकारी दिएको छ।
केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार पनि खुलामञ्चमा डोजर चलाएर थप संरचना भत्काइदिएको छ।
महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहीअनुसार खाली गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिए।
‘आज खुलामञ्चमा पुनर्निर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरीपरिको बार भत्काएका छौँ,’ उनले भने, ‘अब त्यहाँका अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पूरै खाली गर्छौँ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर विद्यासुन्दर शाक्यको निर्देशनअनुसार नै खुलामञ्च खाली गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी दिए।
दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने उनको भनाइ छ। ज्ञवालीले अस्थायी बसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै खुलामञ्च पूर्ण रूपमा खाली गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।