काठमाडौं– रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई २–१ गोलअनतरले पराजित गरेको हो।
घरेलु टिम रियलको जितमा करिम बेन्जिमाले दुबै गोल गरे। इल्चेका डेनी काल्भोले गोल गरे। खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियल मड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो।
६१ औं मिनेटमा डेनी काल्भोले गोल गर्दै इल्चेलाई १–० गोलको अग्रता दिलाए। तर यसपछि रियलले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरी दिलाए।
खेलको अतिरिक्त समयमा बेन्जिमाले दोस्रो गोल गर्दै रियललाई २–१ गोलको जित दिलाएका हुन्।
यो जितसँगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियल मड्रिडको २७ खेलबाट ५७ अंक भएको छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ। पराजित इल्चेको भने २६ खेलबाट २४ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको भने २७ खेलबाट ६३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।