काठमाडौं- काभ्रेपलान्चोक जिल्लाको धुलिखेलबाट पनौतीसम्म एकीकरण मार्ग पदयात्रा सम्पन्न भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा शनिबार पदयात्रा सम्पन्न गरिएको हो।
नेपाली सेनाको पहलमा सञ्चालन भएको एकीकरण मार्ग कार्यक्रम अर्न्तगत नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्वर्धन र प्रवर्द्धन गर्दै सैनिक इतिहास जगेर्ना गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम आयोजना गरिएको सेनाले जानकारी दिएको छ।
कार्यक्रममा काभ्रेपलान्चोक जिल्ला समितिका जिल्ला संयोजक तथा अध्यक्ष उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, तीनै प्रहरीका प्रतिनिधि र नेपाली सेनाका अधिकृतहरुको सहभागिता थियो।
पदमार्गका दौरान धुलिखेल नगरपालिकाको देविस्थानमा पृथ्वी नारायण शाहको सालिक अनावरण भएको थियो भने पनौतीको ऐतिहासिक इन्द्रेशोवर मन्दिर प्राङ्गणमा आई कार्यक्रम सम्पन्न भएको थियो। समापनको क्रममा पनौती संग्राहलयका राजेन्द्र महाजुले पनौतीको इतिहासबारे प्रकाश पारेका थिए।
पदयात्राबाट पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।