फाइल तस्बिर काठमाडौं- उत्तरीसिमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ। तातोपानी नाकाबाट यसअघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेको भएपनि यो साता भने ४ हजार टन रासायनिक मल भित्रिएको हो।
साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो। चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् मल ल्याइएको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए। अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ। हरेक दिन ४/५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताए। आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए।
उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरुले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए। कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ। चीनबाट ५ दिनमा नाकासम्म र ७ दिन भित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाको भनाइ छ।
सुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याइएको हो। कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरुलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताए। तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने छन्।
चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको हो। भारत हुँदै ल्याउने विकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो। तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले बताए।
किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन्। बंगलादेशबाट जीटुजीमार्फत् मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात शुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने दावी महानिर्देशक डा. शर्माले बताए।
आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सय वटा बोरा हुन्छ। एउटा बोरामा ५० केजी युरिया मल हुन्छ। मलको प्रतिबोरा औषत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा रहेको छ। १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, विदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रतिबोरामा मल खरिद गर्न पाउनेछन्। भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो। नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ। अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ। सिल्क ट्रान्सपोर्ट कम्पनीले अहिले मलको मात्र आयात गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।