काठमाडौं– विश्वकप छनोटको दोस्रो चरण र एसियन छनोटमा नेपालले खेल्न बाँकी ‘होम’ खेल अब कुवेतमा हुने भएको छ। एसियन फुटबल महासंघ (एएफसी) ले शुक्रबार कोरोना भाइरसको कारण देखाउँदै खेल स्थान परिवर्तन गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसको कारण देखाउँदै विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी सबै खेल न्युट्रल भेन्युमा गर्न लागेकाे हाे। समूह ए को बाँकी खेल चीनमा, समूह बी को कुवेत, समूह सी को बहराइन र डी को साउदी अरबमा गर्ने एएफसीको निर्णय छ। त्यस्तै, समूह इ को कतारमा हुँदा एफको जापान, जी को युएई र समूह एच को दक्षिण कोरियामा बाँकी खेल आयोजना गर्ने एएफसीले जानकारी दिएको छ।
एएफसीको यस्तो निर्णयसँगै नेपाल लगायतका देशहरुलाई भने घाटा भएको छ। आफ्नो घरेलु मैदानमा खेल्न बाँकी रहेको ‘होम’ खेल विदेशी भूमिमा खेल्नु पर्ने भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले एएफसीले खेल स्थान सारेको बताए। उनले भने, ‘एएफसीले विश्वकप छनोटको बाँकी खेल कुवेतमा सारेको छ। यसले नेपाल जस्तो देशलाई निकै घाटा हुनेछ।’
पूर्व निर्धारित तालिका अनुसार नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो। अब नेपालले कुवेतमा २०७८ को जेठ २० गते चाइनिज ताइपेईसँग खेल्नेछ। त्यस्तै, जेठ २४ गते जोर्डन खेल्ने नेपालले अन्तिम खेल २८ गते खेल्नेछ।
विश्वकप छनोटमा समूह बी मा रहेको नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एक जित, चार हारसहित तीन अक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपालले अस्ट्रेलिया र जोर्डनसँग एक–एक साथै कुवेतसँग दुई खेल हारेको छ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा समूह बनाउनुअघिको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४ औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको हो।
विश्वकप छनोटकै लागि मध्यनजर गर्दै नेपालले लामो समयदेखि अभ्यास थालिरहेको छ। प्रवक्ता राईले नेपाली टिमको अभ्यास निरन्तर रहिरहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।