काठमाडौं–धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापाकोटा र इन्जिनियर पूजा कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। ठेक्का सम्झौता अनुसारको काम सम्पन्न भएपछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले ९५ हजार घुस सहित इन्जिनियर कार्कीलाई पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा लेखा अधिकृत सापकोटा समेतको मिलेमतामो घुस लिएको भन्ने पाइएपछि सापकोटलाई पनि पक्राउ गरिएको थियो।
उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले जनही ९५ हजार बिगो र सजाय माग दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।