काठमाडौं–स्रोत नखुलेको ४२ लाख ३० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। भक्तपुर बस्ने दोलखा बैतेश्वर गाउँपालिका–६ का ३२ वर्षीय सुमन घिमिरे र सोही ठाउँका ३७ वर्षीय विनोद तामाङलाई स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ र विभिन्न बैंककाे चेक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलाइ सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा २१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा स्रोत नखुलेको २७ लाख रुपैयाँ फेला पारी तामाङलाई पक्राउ गरेको हो। थप अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिई उनको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपैयाँ बरामद गरिएकाे हो।
साथै घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लेखिएको महालक्ष्मी विकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका मध्ये सुमन घिमिरे उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौं र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरबारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति शुद्धीकरण विभाग पुल्चोक, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।