काठमाडाैं–रेशम चाैधरीसहित टीकापुर घटनाका दाेषीलाई माफी दिनेबारे सरकार र जसपाबीच छलफल चलिरहँदा मानव अधिकारवादीले भने असन्तुष्टि जनाएका छन्।

एक बालकसहित ८ प्रहरीको हत्यामा दोषी ठहर भएका ब्यक्तिसमेतलाई माफी दिने गरी सरकार जोगाउने खेलमा एमाले फस्नु गलत भएकाे मानवअधिकारकर्मी चरण प्रसाईले बताए।
सरकारकाे याे कार्यले दण्डहीनता संस्थागत हुने, पीडितका अधिकार कुल्चिने र राजनीतिको अपराधीकरण गर्ने उनकाे टिप्पणी छ। ‘यो सत्ताको चरम दुरूपयोग हो,’ उनले भने । चाैधरीसहितलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले सर्वस्वसहित जन्मकैदकाे सजाय ठहर गरेकाे छ।
उनीहरुकाे मुद्दा अहिले सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे छ। याे राजनीतिक मुद्दा भएकाले फिर्ता हुनुपर्ने जनता समाजवादी पार्टीकाे माग छ। सरकार बनाउनका लागि उसले यसलाई मुख्य मागकाे रुपमा अघि सारिरहेकाे छ।

त्यस्तै एम्नेष्टी इन्टरनेशन नेपाल च्यापटरका अध्यक्ष राजन कुइँकेलले पनि चाैधरीकाे मुद्दा फिर्ता लिने निर्णयले दण्डहीनता बढाउने टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा कुइँकेलले सत्ता जाेगाउनका लागि चाैधरीलाई माफी दिनु घाेर दण्डहीनताकाे कार्य भएकाे टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।