काठमाडौं– सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगको ट्रफी उचालेको छ। दुई खेल अघि नै बढुवा भएको सातदोबाटोले आफ्नो अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई पराजित गर्दै लिग च्याम्पियन बन्यो।
ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिगको अन्तिम खेलमा सातदोबाटोले आरसिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो।
खेलको ६७ औं मिनेटमा सातदोबाटोले गोल गर्दै आफ्नो अन्तिम खेलमा जित निकालेको हो। बिहीबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
दुई खेलअघि नै सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले २८ अंक बनाएको छ। सातदोबाटोले आफ्नो ११ खेलमध्ये ९ खेलमा जित, १ खेलमा हार र एक खेलमा बराबरी खेल्यो।
लिगको दोस्रो स्थानमा रहेको खुमालटारले ११ खेलबाट २५ अंकमा लिग सकायो। त्यस्तै, बाँसबारी क्लबले ११ खेलबाट २१ अंक बनाउँदा चौथो स्थानमा रहेको ब्वाइज युनियन क्लबले १७ अंक जोड्यो। त्यस्तै, लिगको पाँचौं स्थानमा मध्यपुर युथ एसोसिएसन रहँदा छैटौंमा श्री भगवती, सातौंमा नयाँबस्ती, आठौंमा श्री कुमारी, नवौंमा आरसिटी, १० औं स्थानमा टुसाल युथ क्लब रहे।
लिगको ११ औं स्थानमा झम्सिखेल युथ क्लब रहँदा लिगको पुछारमा रहेको पुल्चोक स्पोर्ट्स क्लबले भने १२ औं स्थानमा लिग सकायो। त्यस्तै, पुल्चोक भने सी डिभिजनमा घटुवा भएको छ।
बी डिभिजन लिगको च्याम्पियन बनेको सातदोबाटोले १५ लाख रुपैयाँ पाएको छ। त्यस्तै उपविजेता खुमालटार युथ क्लबले १० लाख रुपैयाँ पाएको छ। त्यस्तै, तेस्रो भएको बाँसबारीले आठ लाख, चौथो भएको ब्वाइज युनियनले पाँच लाख रुपैयाँ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।