काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा ‘प्रधानसेनापति प्रशंसा पदक’ बाट सम्मानित भएका छन्।
टुडिखेलमा भएको सेना दिवसको कार्यक्रममा बिहीबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एन्फा अध्यक्ष शेर्पालाई फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका हुन्।
सेनाबाट अवार्ड पाएपछि आफू धेरै खुशी रहेको भन्दै यो अवार्डले एन्फा पारदर्शिताको साथ अघि बढेको अध्यक्ष शेर्पाले बताए। ‘यो अवार्डले हामीले लिएको लक्ष्य, उत्तरदायित्व र पारदर्शिताको साथ संस्थालाई अघि बढाएको देखाउँछ,’ उनले भने।
पछिल्लो समयमा एन्फा निकै सक्रियताको साथ फुटबल गतिविधिमा लागेको छ। एन्फाले नेपालसहित बंगलादेश र किर्गीस्तानसँग दशरथ रंगशालामा आउँदो मार्च २२ देखि ३० सम्म त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
केही दिनअघि मात्रै राष्ट्रिय महिला लिग सकाएको एन्फाले आज (बिहीबार) सहिद स्मारक बी डिभिजन लिगको समापन गरेको छ।त्यस्तै, एन्फाले आउँदो चैत २ गतेदेखि एन्फा प्रसिडेन्ट लिग आयोजना गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।