काठमाडौं- बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनाको अनुसन्धान सकेर प्रहरीले बुझाएको प्रतिवेदनपछि मुद्दा दर्ता भएर अभियुक्त पुर्पक्षमा गइसकेका छन्। प्रहरीको अनुसन्धान प्रतिवेदनमा अभियुक्त भनिएका किशोर, दिनेश भट्टले कसरी हत्या गरे, पोष्टमार्टम रिपोर्ट, घटनास्थल मुचुल्कासम्मका विवरण र हत्याको कारण समेत खुलाएर सरकारी वकिल कार्यालयमा पेश भएको थियो।
प्रहरी अनुसन्धान प्रतिवेदनमा दिनेशले भागरथीको हत्याको कारण पनि खुलाएका छन्। आखिर के थियो यति विभत्स हत्याको कारण? भागरथीले दिनेशलाई ‘काले’ भनेर जिस्काउने गरेको र त्यही रिसमा योजना बनाएर बलात्कारपछि हत्या गरेको देखिएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
‘भागरथीले स्कूल ग्राउन्डमै ‘काले’ भनेर जिस्काएको र त्यसपछि साथीहरूले हाँसेर दिनेशलाई जिस्काएको, सोही कुरा मनमा साँधेर योजना बनाई बलात्कारपछि हत्या गरिएको’ प्रहरी प्रतिवेदनमा दाबी गरिएको छ।
हाडनाता करणीमा समेत सजाय माग
दिदी नाता पर्ने भारगथीलाई बलात्कारपछि हत्या गरेको पाइएपछि दिनेशविरुद्ध हाडनाता करणीमा समेत सजाय माग गरिएको छ। मुलुकी फौजदारी संहिता २०७४ को दफा २२० मा हाडनातामा करणी गर्न नहुने उल्लेख छ। 'कसैले आफ्नो जात वा कुलमा चली आएको चलन परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने र नाताका व्यक्तिको हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी गर्नु नहुने' संहितामा उल्लेख छ। हाडनातामा करणी गरेमा १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजारदेखि ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।
दिदी नाता पर्ने भारगथीलाई बलात्कारपछि हत्या गरेको पाइएपछि दिनेशविरुद्ध हाडनाता करणीमा समेत सजाय माग गरिएको छ।
योसँगै संहिताको दफा २१९ अनुसार बलात्कारको कसुर, कर्तव्य ज्यानको कसुर समेतको सजाय दिनेशविरुद्ध माग दाबी गरिएको छ।
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका बालबालिकाले कुनै अपराध गरेमा उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। अभियुक्त दिनेशका उमेर पनि १५ वर्ष ११ महिना भएकाले यो ऐन पनि आकर्षित हुने देखिन्छ।
अभियुक्तको बयान- 'नमार भन्दै थिइन्, दुवै हातले घाँटी थिचेर हत्या गरेँ'
अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार दिनेशले प्रहरीसमक्ष दिएको बयान यस्तो छः
फागुन २१ गते बिहान अन्दाजी साढे ८ बजेको समयमा म घरबाट विद्यालय गएको हुँ। विद्यालयबाट १३ः४५ बजेको समयमा घरतर्फ आएको हुँ। विद्यालय समय १५ः१५ बजेसम्म हो। सो दिन व्यावसायिक अध्ययन र सामाजिक अध्ययनको विषयको पढाई छोडेर आएको हुँ। विद्यालयवाट फर्किदा मसँगै अध्ययनरत तर्कराज भट्ट, भानदेव भट्ट, लिलाधर भट्ट पनि खोचलेक बजारसम्म आएका हौं। त्यसपछि तिनीहरु कपाल काट्न गए। पछि म घरतर्फ आएँ।
खोचलेक बजारबाट भिरकट्या हुँदै सिल्लमा पुगेँ। भागरथीसँग सिल्लमा भेट भयो। सिल्लदेखि म केही नबोली अगाडि गएपछि घटनास्थलस्थित सडकमा पुगी उक्त स्थानमा बसेको हुँ।
अन्दाजी २ः२० बजेदेखि ३ बजेभित्र भागरथी पनि उक्त स्थानमा पुगिन्। मैले उनलाई धकेल्दा सडकको किनारबाट तल लडेकी हुन्। मैले पहिलो चोटी धकेल्दा सडकभन्दा केही तल लडिन्। उनको खुट्टाबाट एउटा सेन्डिल फुत्कियो। लडेपछि उठेर अलिकति तल गइन्। उनी लड्दा म पनि उनको पछि पछि गएँ।
तल जान खोज्दा उनको अर्को सेन्डिल पनि खस्यो। म पनि उनको पछि-पछि गएँ। भागरथी उभिएकै अवस्थामा घाँटी दबाएपछि बेहोस भए जस्तो भई भुईमा लडिन्। पछि मैले उनको शरीरको तल्लो भागमा लगाएका लुगाहरु घुँडासम्म खोलेँ। एक पटक करणी गरेँ। मलाई नमार भनेकी हो। करणी गरिसकेपछि मैले दुवै हातले घाँटी च्यापी मारेको हुँ।
मारिसकेपछि माथि सडकमा आएँ। सडकसम्म आउने क्रममा उनको मोबाइल खसेको र मोबाइलमा गीत बजिरहेको अवस्थामा फेला पारेँ। उक्त मोबाइलको ब्याट्री निकाली शवभन्दा केही पर फालेको हुँ।
उनको घडी पनि रहेको देखेपछि उक्त घडी तल झाडीमा फालेको हुँ। त्यसपछि म घरतर्फ गएको हुँ। घरतर्फ जाने क्रममा बाटोमा घटनास्थलभन्दा माथिल्लो मोड (घुम्ती)मा पासिमबाटा बस्ने मानमति भट्ट, उनकै नाति दीपकराज भट्ट र नातिनी लक्ष्मी भट्टसँग भेट भयो।
मैले कहाँ जान लाग्नु भयो भनी सोधेँ। उनले ज्वरो आएर औषधि ल्याउन खोचलेक जान लागेको भनी बताएकी हुन्। त्यसपछि घर जाने क्रममा पासिमबाटा भन्ने स्थानमा चडेपानीबाट खोचलेकतर्फ एउटा ट्याक्टर आउँदै थियो। सो ट्याक्टरको अघिल्लो सिटमा मैले चिनेका नवराज भट्ट थिए, उनीसँग केही बोलचाल भएन। अन्य कसैलाई देखेन। पछि म सरासर लमकट्यस्थित मेरो घर गएको हुँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।