काठमाडौं- एक प्रहरी जवानको मृत्यु र एक सई घाइते भएको ललितपुरको गोदावरी नगरपालिका-५ लेलेमा भएको गाडी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
फागुन २५ गते लेलेमा पजेरो दुर्घटना हुँदा ललितपुरमा कार्यरत प्रहरी जवान रवि सुनुवारको मृत्यु भएको थियो भने महानगरीय प्रहरी प्रभाग फर्सिडोलका सई दिनेश मैनाली घाइते भएका थिए। उनीहरू बिदा स्वीकृत नगराई बा २ च ५९४९ नम्बरको निजी गाडी लिएर लेले गएको पाइएको छ। उकालो चढ्ने क्रममा गाडी पल्टिएर दुर्घटना भएको थियो।
सोही घटनाको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले समिति गठन गरेको हो। मेट्रोका एआइजी हरि पालका अनुसार डिआइजी उमेश रन्जितकारको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ। मृतक जवान बर्दियाका हुन् भने घाइते सई नुवाकोटका हुन्। सईको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।