कवि मोहन ठकुरीले खोलिएको बन्द र नजिकको दशैंबारे के सोचिरहेका होलान्? नेपाल लाइभले मन्तव्य मागेको थियो, जवाब आयो-'गन्तव्य'-मा पुग्ने कुरै छैन, के 'मन्तव्य' दिनु र!’
वास्तवमा कविले गन्तव्य र मन्तव्यको अनुप्रासबाट नै दार्जीलिङको वर्तमानबारे बोले। यथार्थ पनि यही हो। दलगाउँमा कुलैन बगान धाउने श्रमिक आशिष लामा यसैलाई आफ्नो पारामा भन्छन्, ‘खाइ न पाइ छालाको टोपी लाई भो यसपाली त।’
तीन महिनादेखि उनीहरू बगान गएनन्। उनीहरूलाई भनिएको थियो रे, ‘बगान नजानु सरकार विरुद्ध गरिएको असहयोग आन्दोलन हो।’
बन्द जारी रहँदासम्म आशिषलाई आफू काममा नगएको ठिकै लागेको थियो, तर केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले अपिल गर्दैमा हात जोडीजोडी विमल गुरूङले गिडगिडाएर बन्द खोलिदिने भनेर गरिएको अपिल लगत्तै पहाड खुला हुँदा मनभित्र खुसी चाहिँ लागेन रे।
‘यस्तो बेला बन्द खोलियो, न हर्ष न विस्मात,’ भन्छन् आशिष, ‘दशैं मुखमा छ, तलब छैन। खोल्नु नै थियो भने अघिबाट नै खोल्नु, नत्र वार्ता भएपछि मात्र खोल्नु।’
उनलाई केन्द्रले गोर्खाल्यान्डबारे कुरा गर्छ भन्ने विश्वास पनि छैन रे।
यता रोङ्गो सिन्कोना बगानकी श्रमिक गङ्गा तामाङलाई बन्दको विषयमा नेताहरूको मनोपोली भएको लाग्छ। उनलाई यति दिनको बन्दले ठूलै उपलब्धि हासिल गर्छ भन्ने लागेको थियो, तर विमल गुरूङ र विनय तामाङबीचको झगडापछि उनलाई लाग्यो, ‘आखिर सप्पै मिलेरै जनतालाई उल्लु बनाइरहेको रहेछन्।’
सधैँ सप्तमीको दिन बगान छुट्टी हुन्थ्यो दशैंको, यसपालि सप्तमीको दिनमै काममा गइन् गङ्गा। ‘नेताहरूको मनपरी हुन थाल्यो, कस्सैले विरोध गर्दैन, अब म विरोधमा उत्रिन्छु’, भन्नलाई त यसो भन्छिन् गङ्गा तर उनलाई पनि थाहा छ उनी एक्लैको दाल गल्नेवाला छैन, यो केवल भित्रबाट निस्किएको आक्रोश मात्र हो।
यस्तै आक्रोश, रिस, बेस्वादहरू यतिखेर दार्जीलिङे जनतामा छ। एक त बन्दको कारण खटिखाने श्रमिक र किसान मर्कामा परेका छन्। न कमाई छ, न हातमा पैसा। यतिखेरै आएको छ दशैं।
कुमाई चियाबारीका श्रमिक प्रवीण राई भन्छन्, ‘दशैं त विमल गुरूङ, विनय तामाङ, अनित थापाहरूको लागि आयो, हाम्रो लागि त दसा आयो।’
हुनेखानेले जसरी पनि दशैं सेलेब्रेट गर्लान्, तर भुँइतहका जनता के गर्लान्?
आन्दोलनको उतारचढावले विरक्त बनेका लेखक प्रकाश हाङ्खिमले घोषणै गरे, ‘आन्दोलन सान्दोलन मारो गोली, अब लेखिएको उपन्यास परिमार्जनतिर लाग्छु।’
यो आन्दोलनप्रतिको विरक्ति थियो। दशैंलाई लिएर पनि उनीसित उस्तै विरक्ति छ। उनी दशैं सेलिब्रेट गर्ने मुडमा छैनन्। दशैं नमनाएर उनी आन्दोलनमा शहिद बन्ने परिवारको निम्ति ‘हामी पनि दुःखी छौं, तपाईँको दुःखमा’ भन्ने सन्देश दिने रे।
‘मैले टीका लाएर रमझम गरे, ती परिवार, जसको आर्थिक स्थिति नितान्त खराब छ उनीहरुलाई देखाएको जस्तो हुनेछ,’ भन्छन् आख्यानकार हाङ्खिम, ‘बरु सकेसम्म दशैंमा अशक्त परिवारलाई केही सहयोग गर्ने विचार छ।’
सोसल मिडियामा अहिले दुई नेताले गाली खाइरहेका छन्, विमल गुरूङ अनि विनय तामाङ। विमल गुरूङले गाली खाएका हुन्, आफू जंगल पसेर रणनीतिहीन आन्दोलन गरेकाले जनतालाई पारेको संकटका कारण। विनय तामाङले गाली खाएका हुन्, जनआन्दोलनलाई जिटिए-मा सम्झौता गरेको कारण।
हिजोसम्म मानिसहरू भन्थे, ‘ठोस उपलब्धि बिना बन्द खोल्नु हुँदैन, किनभने हामीले धेरै गुमाइसक्यौं, कुनै प्राप्तिबिना बन्द खोलियो भने हाम्रो त्याग बेकार हुन्छ।’
तर, दशैंको छेकैमा बन्द खोल्ने विमल गुरूङले घोषणा गरेपछि सबैलाई ‘विरोध गरौं कि दशैंको लागि केही बन्दोबस्त गरौं’-को तनावले छोपिदियो।
कालेबुङ छिबो बस्तीका मिस्त्री काम गर्ने पाल्देन तामाङलाई नेता भन्यो कि रिस उठ्छ रे। ‘११ जना सहिदको खुनले टीका लगाउने विनय तामाङ र विमल गुरूङ दुवैलाई फलिफाप चाहिँ हुँदैन नै,’ भन्छन् उनी, ‘दशैं कसरी मान्नु भन्नेबारे दुःख लाग्दैन, फेल भएको आन्दोलन सम्झेर दुःख लाग्छ।’
कवि राजा पुनियानी जनताको आन्दोलनमा नेताको बुर्कुसी चलेको बताउँछन्। उनलाई यो बन्द खुलेको खुल्ला लागेकै छैन। उनलाई जनताले बाध्य भएर दोकानपाट खोल्लान् तर मन त बन्द नै छ भन्ने लाग्छ। ‘विमलको निर्देशमा विनयले बोलाएको बन्द विनयले कोलकत्ताको नवान्नमा पाएको वरदानपछि आफैं खोलाउने अभियानमा लागेपछि सिन क्लियर भइसकेको हो,’ भन्छन् राजा, ‘जनताको आन्दोलन हो। नेताले यसमा बुर्कुसी खेले। नेताले गर्दा हुने र नगर्दा नहुने होइन आन्दोलन। जनताको मर्जी हो। तर जनता एक्स्प्लोइटेड भए। सधैं चल्दैन यस्तो। जनताले हाक्ने दिन आउँछ। एक न एक दिन।’
कविलाई लाग्छ, 'यो पाली जनताले निकै गुमाएका छ्न्। सिकेका पनि छन्। अबको आन्दोलन अझअझ एक फड्को माथि जानेछ। विश्वका आत्मनिर्णयको आन्दोलनहरूको पाठ यही हो। काइजेन। अर्थात् निरन्तर प्रगति। हस्तक्षेप लेखनले भन्न खोजेको पनि यही हो। समाज एक्कै पालीमा फेरिँदैन। रोम एक दिनमा बनेको थिएन भन्ने उखान छ। समाज बनिनु, फेरिनु र निर्माण हुनु समय लाग्छ। हतोत्साहित बन्ने काम छैन जनताले।'
यद्धपि आजको निराशाजनक राजनीतिले समाजका मूल्यहरू नष्ट गरेको मान्छन् पुनियानी। अब नयाँ र भरपर्दा नेतृत्व तयार नभए दार्जीलिङको स्थिति सँधै यस्तै रहने निष्कर्ष पनि राजासित छ।
‘नेतृत्व पैदा गर्ने चुनौती छ। काम लाग्ने, समर्पित, दायित्ववान नेतृत्व अब जनताबाट आउनुपर्छ। ठिकाबिघा गर्ने श्रेणीको नेतृत्वले सधैँ यसरी नै धोका दिने हो। ऊ आफ्नो क्लासप्रति समर्पित हुनुपर्दा जनतालाई धोका दिनै परेको हुन्छ। जुन नेतृत्व जनताको होइन। त्यै भएर अब यो आन्दोलन एक पाठ हो,’ राजाको विश्लेषण छ।
एक दर्जन दाजु-भाई सहिद भएकाले यसै पनि दशैंको रमझम गर्ने मौसम नरहेको उनलाई लागेको छ। दशैंको मुखेञ्जी विमल गुरूङले बन्द खोल्नुले भुइँतहका मानिसमा छाएको निराशा विकासशील समाजका लागि गतिलो खतरा हुने पनि उनलाई लाग्छ।
सङ्गीतकार/गायक दुर्गा खरेललाई राजनीतिले यति परिणति शून्य स्थिति निर्माण गर्ला भन्ने लागेकै थिएन। नेतृत्व असक्षम हुँदा त्यसले समाजलाई शदियौं पछि धकेल्ने कुरामा उनलाई विश्वास छ। ‘हेर्नुस त, असक्षम राजनीतिले बढो सांस्कृतिक ऐक्यता बोकेको दशैंजस्तो पर्वलाई समेत औपचारिकतामा सिमित गरिदियो,’ खरेल भन्छन्, ‘हाम्रा एक सय पाँच दिने त्याग खेर गए।’
सिलगढीका पत्रकार/सम्पादक अशोक प्रशान्तसमेत दशैं औपचारिक मात्र बनेकोमा खिन्न छन्। ‘सङ्घर्ष त निरन्तर नै छ, यसपल्ट दशैंलाई औपचारिक रूपले मनाउनुपर्ने स्थिति बन्यो,’ भन्छन् प्रशान्त।
खरसाङका प्रदीप शेर्पालाई दशैं भन्नसाथ यसपालि नेताहरूको असक्षमताको कारण ज्यान गुनाउने सहिदहरूको अनुहार आँखामा आउँछ रे। दैनिक खटिखानेहरुको अवस्थाले दुखाउँछ रे। ‘यस्तोमा कसरी उत्सव मनाउनु?’ उल्टै प्रश्न गर्छन् शेर्पा।
सुबास घिसिङलाई देउतै मानेर राजनीतिमा छिरेका दार्जीलिङका सचित गहतराजले त प्वाक्कै भने, ‘सहिदहरूको कारण म दुःखमा छु, दशैं बार्छु।’
जलढकाका मणि अधिकारीलाई बन्द हुँदासम्म दशैंको चिन्ता थिएन। उनलाई लागेको थियो रे, आन्दोलनको कारण दशैं सबैले मनाउने छैनन्, यसकारण दशैंलाई लिएर सोचिबस्ने झिँजेट नै छैन। तर मुखैमा बन्द खोलिँदा उनको होस् उड्यो।
‘यतिखेर न इस्कुस बेच्नु, न बेच्नलाई केही नै छ,’ भन्छन् अधिकारी, ‘आन्दोलन र दशैं दुवैको दोहोरो मारमा त कृषकहरू नै छन्। हामीलाई कसले क्षतिपूर्ति दिन्छ?’
सिलगढीका विकास कार्कीलाई पनि यस्तै लाग्छ। जनता दोहोरो मारमा परे। बन्द त खोलियो, तर जनताले जीवन फेरि शून्यबाट शुरु गर्नुपर्ने भो।
‘एकातिर वर्ष दिनको चाड छ, अर्कोतिर ढुकुटी र गोजी रित्तै,’ भन्छन् कार्की पनि, ‘कि अस्तिनै बन्द खल्नु, कमसेकम जनताले अलि चलमलाउने मौका पाउने थिए। कि दशैं सकिएर खोल्नु, कमसे कम दशैंको मार सहनु पर्थेन!'
निष्कर्षमा कवि लेखनाथ छेत्री भन्छन्- ‘बन्द त खुल्यो, तर दशैं बन्द भो।’ दार्जीलिङको ताजा स्थिति के हो? लेखनाथको यही निष्कर्ष त्यसको जवाफ हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।