काठमाडौं- काठमाडौं जिल्ला अदालतले सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो।
बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा बस्नेतलाई परिसरले फागुन ४ गते पक्राउ गरेको थियो। धरौटी रकम बुझाएर बस्नेत रिहा भएका छन्।
बस्नेतविरुद्ध अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय र अभद्र व्यवहारको कसुरमा १ वर्षससम्म कैद वा हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको थियो।
विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु बाबुछोरीजस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे।
तर बाबुछोरी भनिएका यी दुई जनाको विषय सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेको थियो। विनयले विभिन्न युट्युब च्यानलमा सपनाविरुद्ध नकारात्मक अभिव्यक्ति दिएको र उनको चरित्र हत्या गराउने प्रकृतिका अभिव्यक्ति दिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।