काठमाडाैं– चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच छनोट गरिएको छ।
प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्वीरहरु बोर्डको फोटो अभियानको साइट ‘फोटोनेपाल ट्राभल’मार्फत् पठाउन आह्वान गरिएको थियो।
कूल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ। विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए।
नेपाल पर्यटन बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ‘ह्यास फोटो नेपाल’ फोटो प्रदर्शनी गर्दै आएको थियो।
‘फोटो नेपाल’ फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो। बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन रुपमा भइरहेको छ।
यस अभियानलाई अझ ब्यापक बनाउन ‘फोटो नेपाल डट ट्राभल’ सुरु गरिएको छ। हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन्। इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्नेछन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।