काठमाडौं- च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बुधबार राति दुई खेल हुँदैछन्। जसमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब लाइपजिग साथै स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी खेल्नेछन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
बार्सिलोना र पिएसजीबीचको खेल यसअघि २०१६-१७ को च्याम्पियन्स लिगमा भएको भेटसँग जोडेर तुलना भइरहेको छ। २०१६–१७ को च्याम्पियन्स लिगमा पहिलो लेग ४–० ले जितेको पिएसजीलाई दोस्रो लेगमा ६–१ ले हराउँदै बार्सिलोनाले सनसनी खेल देखाएको थियो। यो सिजन पनि बार्सिलोना आफ्नै मैदानमा पहिलो लेगको खेलमा ४–१ ले पराजित भएको थियो।
त्यही अवस्था उल्टाएर खेलमा फर्कन बार्सिलोनाले गर्ने प्रयासले पुरानो भेट सम्झाइरहेको हो। त्यसअघि २०१४–१५ को च्याम्पियन्स लिग समूह चरणमा पहिलो खेल पिएसजीले ३–२ ले खेल जितेको थियो। अर्को खेलमा बार्सिलोना ३–१ ले विजयी भएको थियो। त्यही सिजन क्वाटरफाइनलमा भएको भेटमा पहिलो लेगमा ३–१ र दोस्रोमा २–० जित्दै समग्रमा ५–१ ले बार्सिलोना विजयी भएको थियो। २०१२–१३ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भेट हुँदा बार्सिलोना अवे गोलका आधारमा अघि बढेको थियो।
पहिलो खेल पिएसजीको मैदानमा २–२ को बराबरी खेलेको पहिलो लेगपछि बार्सिलोना मैदानमा १–१ को बराबरी भएको थियो। त्यसअघि १९९४–९५ को सिजन च्याम्पियन्स लिग क्वाटरफाइनलमा भेट हुँदा पिएसजी अघि बढेको थियो। पहिलो खेल १–१ को बराबरी भएको प्रतिस्पर्धामा दोस्रो खेल पिएसजीले २–१ ले जितेको थियो। अहिले पिएसजीका नयाँ प्रशिक्षक मोउरिसियो पोचेटिनोका लागि बार्सिलोनासँगको च्याम्पियन्स लिग खेल आफ्नो महत्त्व देखाउने खेल पनि बनिरहेको छ। गएको सिजन फाइनलमा पुगेर बायर्न म्युनिकसँग पराजित भएको पिएसजीलाई यो सिजन च्याम्पियन्स लिग जिताउने लक्ष्य पोचेटिनोले पाएका छन्।
उता बार्सिलोनामा पुनर्निर्माणको चरणमा रहेका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि पनि बलियो प्रतिस्पर्धी पिएसजीविरुद्ध आफ्नो क्षमता पुनः प्रमाणित गर्ने चुनौती छ। पहिलो लेगको हारमा २७औँ मिनेटमा मेस्सीको गोल अग्रता बनाइसकेको बार्सिलोना त्यसपछि नराम्ररी चुकेको थियो। जहाँ पिएसजीका लागि केलियन एमबाप्पेले ह्याट्रिक गरेका थिए। किनले एक गोल गरेका थिए।
च्याम्पियन्स लिगमा यसअघि लगातार १३ पटक क्वाटरफाइनलमा पुगेको बार्सिलोनाका लागि अहिलेको पिएसजीविरुद्ध सहज हुने छैन। अन्तिम पटक बार्सिलोना २००६–०७ को च्याम्पियन्स लिगमा लिभरपुलसँग २–२ को बराबरी हुँदा अवे गोलका आधारमा बाहिरिएको थियो।
बार्सिलोनासँगको खेलमा पिएसजीका स्टार खेलाडी नेमार चोटका कारण हुने छैनन्। नेमारले पहिलो लेगको खेल पनि गुमाएका थिए। बार्सिलोनाका जेरार्ड पिके, रोनाल्ड आरुखो, अन्सु फाती, सर्जि रोबर्टो र फिलिप कोउटिन्हो चोटका कारण टिममा छैनन्।
के भन्छन् प्रशिक्षक?
रोनाल्ड कोम्यान, बार्सिलोना – खेल नसकिँदासम्म खेलमा जितको आशको जीवन रहिरहन्छ। हामी खेलमा कसरी बढ्छौँ भन्ने कुरामा नतिजा निर्भर हुनेछ। हामी खेलमा आफ्नो सबै शक्ति प्रयोग गरेर उनीहरुका लागि अप्ठ्यारो पार्नेछौँ। उनीहरुले पहिलो लेगमा राम्रो गरे हाम्रो टिम पनि अवसरमा बढ्न सक्नेछ। हामीले आफ्नो कुशलतामा ध्यान दियौँ भने असम्भव केही पनि छैन।
मोउरिसियो पोचेटिनो, पिएसजी – फुटबलमा सबैभन्दा महत्त्वपूर्ण विषय भनेको आशावादी हुनु नै हो। हामी पूरा रुपमा खेलमा ध्यान दिएर खेल्नुपर्ने हुन्छ। बार्सिलोनामा भन्दा राम्रो खेल्नुपर्ने चुनौती यहाँ छ। हामी बल आक्रमणमा नै बढेर खेल जित्नेछौँ। हामीले तयारी पनि त्यसै हिसाबले गरेका छौँ।
सम्भावित सुरुवाती ११
बार्सिलोना– टेर स्टेगेन, मिन्गोएजा, लङलेट, उमटिटी, डेस्ट, अल्बा, डि योङ, बुस्केट्स, पेड्री, मेस्सी र डेम्बेले।
पिएसजी– नाभास, फ्लोरेन्जी, माक्र्विनस, किमपेम्बे, कुरजावा, गुए, भेराटी, पाराडेस, डि मारिया, इकार्डी र एमबाप्पे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।