काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषको रकम दुरुपयोग गरेको अभियोगमा रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका १७ सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभिन्न फरक–फरक प्रंसगमा प्रवाह भएको कर्जा दुरुपयोग गरेको अभियोगमा उनीहरुविरुद्ध मंगलबार ११ थान मुद्दा दायर भएको हो।
अख्तिायरले दर्ता गरेको पहिलो मुद्दामा साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारीसमेत ११ जनाविरुद्ध २ करोड १ लाख ९४ हजार ५ सय ५६ रुपैयाँ बिगाे माग गरिएको छ।
दोस्रो फाइनान्सका सञ्चालक अधिकारीसमेत १० जनाविरुद्ध ३ करोड ८७ लाख ९४ हजार ७ सय २४ रुपैयाँ बिगो दावी गरिएको छ। तेस्रो मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १३ जनालाई विपक्षी बनाइएको छ। अख्तियारले उनीहरुसँग २ करोड १५ लाख २५ हजार ५ सय ६४ रुपैयाँ बिगाे कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको छ।
चौथो मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १२ जनालाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा ४ करोड ६३ लाख ६८ हजार २ सय ५४ रुपैयाँ बिगाे माग दावी गरेको छ। पाँचौ मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १२ जनालाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा ४ करोड ३५ लाख ९८ हजार ५ सय ६६ रुपैयाँ बिगाे माग दावी गरिएको छ।
छैठाैं मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत ११ जनालाई विपक्षी बनाइएको छ। उनीहरुविरुद्ध २ करोड ९७ लाख ९१ ह्जार ८ सय ९७ रुपैयाँ बिगाे दावी गरिएको छ। साताै मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १७ जनालाई विपक्षी बनाइएको छ। उनीहरुसँग १ करोड ७५ लाख ६७ हजार ८ सय ९४ रुपैयाँ असुल हुनुपर्ने जिकीर गरिएको छ।
आठौं मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १५ जनालाई विपक्षी बनाइएको छ। उनीहरुसँग ११ करोड ११ लाख ५८ हजार ७ सय ७१ असुल हुनुपर्ने दावी गरिएको छ। नवाैं मुद्दामा अख्तियारले फाइनान्सका सञ्चालक अधिकारीसहित १४लाई विपक्षी बनाएको छ। उनीहरुसँग १ करोड ४५ लाख १ हजार ८३ असुल हुुनुपर्ने दावी गरेको छ।
दशौं मुद्दामा फाइनान्सका सञ्चालक अधिकारीसमेत १० जनालाई विपक्षी बनाइएको छ। उनीहरुसँग ५करोड ८७ लाख ३२ हजार ९ सय १२ बिगाे असुल हुनुपर्ने दावी गरिएको छ। एघारौं मुद्दामा अख्तियारले फाइनान्सका सञ्चालक अधिकारीसहित ११ जनालाई विपक्षी बनाएको छ। अख्तियारले उनीहरुसँग ११ लाख ५४ हजार ७ सय ५ रुपैयाँ असुल हुनुपर्ने दावी गरेको छ।
अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगाे बराबर जरिवाना हुनुपर्ने भनेको छ।
यी हुन भ्रष्टाचार मुद्दा दायर भएका आरोपितहरु
नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. घोटलामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा मर्ज भएको छ ।
नागरिक लगानी कोषको तर्फबाट सञ्चालकमा नियुक्त भै गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी सञ्चालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रक्रियाविपरीत कर्जा प्रवाहमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका सञ्चालकहरु छविरमण अधिकारी, रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सुबर्ण राजभण्डारी, बिष्णुप्रसाद धिताल र इच्छा बहादुर गुरुङले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित गरेको आरोपपत्रमा उल्लेख छ।
इन्जिनियर नरेश स्वाँरले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाएको भन्दै अख्तियारले उनलाई पनि विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अरुणीमा हाउजिङ प्रा.लि. का सञ्चालक रोहित दाहाल र लेखनाथ दाहाल, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल, साविक एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत सन्तोष धिताल, अधिकृत सागर न्यौपाने, साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, बरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट र अधिकृत प्रमोद भट्टराईले प्रतिवादीहरु रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सुबर्ण राजभण्डारी, बिष्णुप्रसाद धिताल र इच्छाबहादुर गुरुङलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको अख्तियारको अराोपपत्रमा उल्लेख छ। भ्रष्टाचारको मतियार हुने कसुर गरेको भन्दै अख्तियारले सन्तोष धिताल, सागर न्यौपाने, विकास श्रेष्ठ, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, ऋषिराज भट्ट र प्रमोद भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मतियारहरुलाई कसुरदारलाई हुने सजायको आधा सजाय तथा रोहित दाहाल, लेखनाथ दाहाल र मनोजकुमार भेटवालले सार्वजनिक संस्थाबाट ऋण रकम लिई लाभसमेत लिएको भन्दै मुल प्रतिवादी सरह कैद सजाय गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।