काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।
मंगलबार केन्द्रको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन भनेका हुन्।
‘हामीले अहिले हेरेका मेसिनहरुमध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेसिन त्यसलाई रेडी पोजिसनमा राख्नुस्। निर्वाचन आयोगले आदेश दिन बित्तिकै खरररर मत पत्र छापिने गरेर तयारीमा रहनुस्’, उनले भने, ‘कुनैपनि बेला तपाइँहरुलाई यो आदेश आउनेछ।’
मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताए। मन्त्री श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन समेत निर्देशन दिएका छन्।
केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए। अब नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नका लागि निर्देशन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।