काठमाडौं– पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले एकै खेलमा १७ गोल गरेका छन्। सियालकोट सिटीविरुद्ध मासा युनाइटेड एफसीका लागि सरु लिम्बुले १०, अनिता केसीले ६ गोल र गीता रानाले एक गोल गरेका हुन्।
सियालकोटलाई १९–० गोलले पराजित गर्दा सरुले खेलको १२ औं मिनेटमा नै अग्रता दिलाएकी थिइन्। उनले खेलको १८ र २५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। लगतै खेलको २९ औं मिनेटमा अनिता केसीले व्यक्तिगत पहिलो गोल गरिन्।
सरुले ४०, ४२ औं र पहिलो हाफको अन्तिम समयमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्। अनिताले ४९ र ५३ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक गरिन्। सरु र अनिताले आलोपालो गोल गरिरहेको खेलमा ५४ औं मिनेटमै सरुले ५८ औं मिनेटमै अनिताले गोल गरे।
नेपालकी गीता रानाले खेलको ६३ औं मिनेटमा एक गोल गरिन्। त्यसपछि सरु र अनिताले थप पाँच गोल गरे। जसमा सरुले ६७, ८५ र ८९ औं मिनेटमा गोल गरिन्। अनिताले ७२ र ७३ औं मिनेटमा लगातार गोल गरिन्।
पहिलो पटक पाकिस्तानी महिला फुटबलमा नेपाली खेलाडीहरु सहभागि भइरहेका हुन्। मासा युनाइटेड एकै टिमले नेपालका चार खेलाडीलाई आबद्ध गरेको हो। जसमा सरु, अनिता, गीता र एन्जिला तुम्बापो सुब्बा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।