काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब युभेन्टस र पोर्चुगिज क्लब पोर्टो साथै जर्मन क्लब बोरुसिया डोर्टमुन्ड र स्पेनिस क्लब सेभियाबीचको खेल मंगलबार राति पौने २ बजे हुँदैछ।
बोरुसिया डोर्टमुन्डले पहिलो लेगको खेलमा सेभियालाई ३-२ ले हराएको थियो। जसमा डोर्टमुन्डका लागि एर्लिङ हल्यान्डले दुई गोल गरेका थिए। दोस्रो लेगको खेलमा चोटका कारण हल्यान्ड खेल्ने नखेल्ने निश्चित नहुँदा सेभियालाई केही राहत हुने देखिएको थियो। तर, अहिले उनी मैदान जान सक्ने गरी स्वस्थ रहेका छन्। तर, डोर्टमुन्डका जोर्डन सान्चो भने मैदानमा हुने छैनन्।
लिग खेलमा बायर्न म्युनिकसँग ४–२ ले पराजित हुँदा हल्यान्ड चोटका कारण मैदानबाट बाहिरिएका थिए। जहाँ दोस्रो र नवौं मिनेटमा नै हल्यान्डले गोल गरेर दिलाएको दोहोरो अग्रता अन्तिमसम्म टिक्न सकेको थिएन।
चोटका कारण ६०औं मिनेटमा बाहिरिएका उनी च्याम्पियन्स लिगमा खेल्न नसक्ने अनुमान भइरहेका थिए। हल्यान्ड मैदान फर्किएसँगै सेभियामाथि दबाब बढेको छ। सेभिया प्रशिक्षक जुलेन लोपेटेगीले हल्यान्ड विश्वस्तरीय खेलाडी रहेको भन्दै उनको प्रशंसा खेलअघि नै गरिसकेका छन्।
सेभियाले पछिल्लो पटक २०१५ मा बोरुसिया मोन्चेनग्लादबाखलाई ३–० ले हराएपछि च्याम्पियन्स लिगमा जर्मन विपक्षीसँग पछिल्ला चार खेलमा तीन खेल गुमाएको छ। त्यसअघि २०१०–११ को युरोपा लिगमा सेभियासँग आफ्नै मैदानमा बोरुसिया डोर्टमुन्ड १–० ले पराजित भएको थियो।
के भन्छन् प्रशिक्षक?
एडिन टेर्जिक, बोरुसिया डोर्टमुन्ड- सेभियाको पछिल्ला नतिजा राम्रो नभएको भए पनि उनीहरुले राम्रो खेल्नेछन् भन्ने अनुमान हामीले गरेका छौँ। हामी डोर्टमुन्डमा उनीहरुले नसोचेको तीव्रता देखाउने प्रयासमा हुनेछौँ। हामीले आफ्नो मैदानमा दर्शकको कमि महसुस गर्नेछौँ तर अहिले अवस्था नै त्यस्तै छ। दर्शक फर्किने दिनको प्रतीक्षामा छौँ।
जुलेन लोपेटेगी, सेभिया- हामी जितको इच्छा र उत्साहका साथ डोर्टमुन्डविरुद्ध खेल्न आएका छौँ। हामीले आफूले सक्ने सबै मिहिनेत खेलमा लगाउनेछौँ। हामीलाई थाहा छ यो खेल हाम्रा लागि आश जगाउने खेल पनि हो। डोर्टमुन्ड निकै राम्रो टिम हो, जहाँ गजबका खेलाडी छन्। हल्यान्ड विश्वस्तरीय खेलाडी हुन्।
सम्भावित सुरुवाती ११
बोरुसिया डोर्टमुन्ड- हिट्ज, म्युनियर, कान, हमेल्स, स्कल्ज, डेलानी, बेलिङहम, दाहोद, रोएस, हाजार्ड र हल्यान्ड।
सेभिया- बोउनाउ, नाभास, कुन्डे, डिएगो कार्लोस, एक्कुन्या, जोर्डन, फर्नान्डो, ओकाम्पस, राकिटिक, गोमेज र एन नेसेरी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।