भोजपुर– बढ्दो सुचना प्रविधिमा विद्यार्थीको पहुँच बढाउन भोजपुरको पुर्वी अरुण गाउँपालिका वडा नम्बर–७, सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आइटी कक्षा सञ्चालनको तयारी थालिएको छ । सोही मुख्य उद्धेश्य पूरा गर्न यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम थालिएको छ ।
विद्यार्थीहरूलाई समयसापेक्ष प्राविधिक शिक्षा र कम्प्युटर प्रविधिको पहुँच बढाउन जरुरी रहेकोले विद्यालय त्यसको तयारीमा लागेको वडाध्यक्ष कुमार थापाले बताए ।
उनले विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा स्थानीय युवा हरूको सक्रिय सहभागितामा देउसीभैलो थालिएको बताए । पछिल्लो समय विद्यालयमा कम्प्युटर ल्याब स्थापना तथा आइटी कक्षा अनिवार्यरूपमा सञ्चालन गर्न आर्थिक अभाव भएपछि समुदायसँग सहयोग जुटाउन यो अभियान थालिएको विद्यालयले जनाएको छ ।
संकलित रकम विद्यालयमा आइटीसम्बन्धी उपकरण खरिद र कक्षा सञ्चालनको व्यवस्थापनमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले बताए ।
विद्यालयको यस अभियानबाट ग्रामीण भेगका विद्यार्थी हरूलाई समेत प्रविधिको ज्ञान दिन र कम्प्युटर शिक्षामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको स्थानीय अनिल बस्नेतले बताए । विद्यालयमा आइटी कक्षा सञ्चालन हुने भएपछि स्थानीय अभिभावक तथा विद्यार्थीहरूमा खुसीयाली छाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।