काठमाडौं–दैलेखको आठबिस नगरपालिका–३ निमाइलका बेपत्ता एकै परिवारका ५ मध्ये ४ जनाको शव भेटिएको छ। फागुन २३ गते माइती जान भनी हिँडेकी सुकी बडुवालसँगै उनका तीन छोरी र एक छोरा वेपत्ता भएका थिए।
वेपत्ता भएका मध्ये दुई जनाको शव साेमबार दिउँसो फेला परेको थियो। अछाम पञ्चदेवल विनायक नगरपालिका–४ बेलखेत स्थित कर्णाली नदीमा माछा मार्ने पासोमा २ जनाको शव फेला परेको थियो। उक्त सूचनापछि खटिएको प्रहरीले ती दुई शव सुकी बडुवालका दुई छोरी १२ वर्षीया सरिता र १४ वर्षीया कल्पना भएको प्रहरीले पुष्टि गरेको थियो।
दुई शव फेला परे पनि सुकीसहित अन्य तीन जना वेपत्ता थिए। उक्त जानकारी पाएपछि कर्णाली प्रदेशका प्रहरी प्रमुख वसन्त पन्तसहितको टोली घटनास्थत गएको थियो। त्यसपछि खोजी गर्ने क्रममा थप दुई जनाको शव मंगलबार फेला परेको छ।
सुकी बडुवाल र उनका १० वर्षीया छोरा ललित बडुवालको शव कर्णाली नदीबाट प्रहरीले निकालेको छ। सुकीकी ७ वर्षीया छोरी रजनी भने अझै वेपत्ता छिन्। मृत भेटिएकाहरु मानसिंह बडुवालका श्रीमती र छोराछोरीहरु हुन्।
सामान्य घरायसी विवादपछि श्रीमतीले छोराछोरी लिएर घरबाट निस्केको मानसिंह बडुवालले बताएको प्रहरीको भनाइ छ। त्यस विषयमा थप अनुसन्धान भइरहेको र सशस्त्र प्रहरी बल तथा स्थानीयको सहयोगमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।